डुंगामा हमला: कम्तीमा ३० शरणार्थीको मृत्यु

  • 17 मार्च 2017
घाइतेको उद्धार तस्वीर कपीराइट Reuters
Image caption आक्रमणपछि डुंगामा रहेका कैयौं घाइतेलाई उद्धार गरी समुद्री तटमा ल्याइएको जनाइएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार यमनको तटपारी एक हेलिकोप्टरबाट भएको क्षेप्यास्त्र हमलापछि कम्तीमा ३१ जनाको ज्यान गएको छ।

मारिनेहरुमा महिला तथा बालबालिका रहेको बताइएको छ।

सोमालियाका शरणार्थी बोकेर यमनको बाब अल-मन्डेब नजिकैको समुद्र 'रेड सी'बाट अघि बढिरहेको डुंगामा क्षेप्यास्त्र प्रहार भएको आईओएमले जनाएको छ।

आक्रमणपछि खिंचिएका तस्वीरहरुमा डुंगा क्षतविक्षत भएको र त्यहाँ शवहरु छरिएको देख्न सकिन्छ।

मारिएका केही मानिसले राष्ट्रसंघीय शरणार्थी परिचयपत्र बोकेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरले जनाएको छ।

उद्धार

आईओएमका अनुसार क्षेप्यास्त्र आक्रमणपछि करीब ८० जना घाइतेको उद्धार गरी अस्पताल पुराइएको थियो।

आक्रमण कसले गरेको हो त्यो प्रष्ट भएको छैन।

तर नजिकैको बन्दरगाह यमनमा दुई वर्षदेखि साउदी नेतृत्वको गठवन्धन सेनाविरुद्ध लडिरहेको हुथी विद्रोहीहरुको नियन्त्रणमा रहेको छ।

गठबन्धनले चाहिँ यमनी हवाइ क्षेत्रमा मात्र नियन्त्रण जमाइरहेको छ।

विद्रोही नियन्त्रित साबा समाचार संस्थाले डुंगामाथि गठबन्धनले हवाइ हमला गरेको जनाएको छ।

आक्रमण

एक तटरक्षकको भनाइमा त्यो डुंगामाथि बन्दुक जडित हेलिकोप्टरले आक्रमण गरेको थियो।

तर अर्का अधिकारीले एएफपी समाचार संस्थालाई बताएअनुसार त्यो डुंगा तटमा अड्याइएको बेला हलुका हतियारद्वारा आक्रमण गरिएको थियो।

गठवन्धनको तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन।

युएनएचसीआरका अनुसार त्यो डुंगा सुडान वा अन्य कुनै देशतर्फ गइरहेको हुनसक्छ।

राष्ट्रसंघका अनुसार सोमालिया अहिले भोकमरीको त्रासमा छ र त्यहाँ झण्डै ३० लाख मानिसले खाद्य असुरक्षाको खतरा व्यहोरिरहेका छन्।