'उच्च क्षमताको रकेट इन्जिन परीक्षण'

  • 19 मार्च 2017
उत्तर कोरिया तस्वीर कपीराइट Reuters

उत्तर कोरियाले एउटा नयाँ विकसित रकेट इञ्जिनको सफल परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उक्त देशका नेता किम जङ् उनलाई उदृत गर्दै आएका खबरहरु अनुसार उक्त इञ्जिनको विकाससंगै उत्तर कोरियाले विश्वस्तरको भूउपग्रह प्रक्षेपणको क्षमता हासिल गरेको छ।

राज्य नियन्त्रित सञ्चारमाध्यम केसीएनएका अनुसार नेता किम जङ् उनले पछिल्लो परीक्षणलाई मुलुकको रकेट क्षेत्रको नयाँ जन्मको रुपमा व्याख्या गरेका छन्।

तर उक्त परीक्षणको स्वतन्त्र पुष्टि भने भइसकेको छैन्।

विश्लेषण

यदि त्यो सही हो भने, लामो दूरीको आणविक क्षेप्यास्त्र विकास गर्ने प्योङ्याङ्को घोषित लक्ष्य त्यस पछाडिको कारण रहेको विश्लेषकहरुले बताएका छन्।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बेइजिङ्मा चिनियाँ नेताहरुसँग भेटवार्ता गरिरहेका बेला पछिल्लो खबर आएको छ।

यसअघि टिलरसनले उत्तर कोरियाविरुद्धको सैनिक कारबाही एउटा विकल्पको रुपमा आफूहरुले सोचिरहेको चेतावनी दिएका थिए।

तर उनका चिनियाँ समकक्षी वाङ् यीले भने उत्तर कोरियाली आणविक कार्यक्रमसँग सम्बन्धित मामिलामा ठन्डा दिमागले काम गर्नुपर्ने धारणा राखेका थिए।

यद्यपि उनीहरुबीच भएको भेटमा उत्तर कोरियालाई उसको आणविक कार्यक्रमबाट फरक बाटोमा हिंडाउन दुवै पक्ष मिलेर काम गर्ने सहमति पनि भएको छ।

उत्तर कोरियाले पाँचवटा आणविक र श्रृखंलावद्ध क्षेप्यास्त्र परीक्षणहरु गरिसकेको छ।

विज्ञहरु ठान्छन्, उत्तर कोरियाले अमेरिकासम्म पुग्ने आणविक क्षेप्यास्त्रहरु विकास गर्ने प्रयास गरिरहेको छ।