‘चुनावअघि केन्द्र परिवर्तन नहुने’

  • 20 मार्च 2017
नेपाल सरकार

जिल्ला, जिल्लामा स्थानीय तहका तोकिएका केन्द्रहरु चुनावअघि परिवर्तन गर्न नसकिने स्थानीय विकास मन्त्रालयले जनाएको छ।

कतिपय जिल्लामा तोकिएका केन्द्रबारे असन्तुष्टि जनाउँदै विवाद भइरहँदा निर्वाचनलाई लक्षित गरेर भौतिक संरचना भएका ठाँउहरुमा केन्द्र राख्नु आफ्नो वाध्यता भएको मन्त्रालयका अधिकारीहरुले बताएका हुन्।

स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिले नै पछि ती केन्द्र परिवर्तन गर्न सक्ने उनीहरु बताउँछन्।

विवाद

रोल्पा, रुकुम, पर्वत, बाँके लगायतका देशका विभिन्न जिल्लामा हालै घोषणा गरिएका स्थानीय तहका केन्द्रलाई लिएर चर्को विवाद भैरहेको छ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै शुरुवात भएका यस्ता विवाद सरकारले प्रतिवेदनमा गरेको संशोधनपछि पनि हल हुन सकेका छैनन्।

जसका कारण तोकिएका स्थानमा स्थानीय तहको कार्यालय स्थापना गर्ने काम हुन नसकेको बताइएको छ।

आन्दोलन मार्फत केन्द्र परिवर्तनको माग गरिएको भए पनि तत्काल तोकिएको केन्द्र परिवर्तन हुन नसक्ने स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए।

"केही समयका लागि गरिएको व्यवस्थाका निम्ति धेरै विवाद गरिरहन आवश्यक छैन। त्यसैले यसै अनुसार स्थानीय स्तरमा विवाद मिलाउनुहोस् भनेर जिल्लाका अधिकारीहरुलाई भनेका छौं," उनले भने।

'चुनाव लक्षित'

स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहका कार्यालयहरु भौतिक पुर्वाधार भएको स्थानमै राख्नु आफ्नो वाध्यता रहेको सचिव अधिकारीको भनाइ छ।

उनले भने "चुनाव गर्नु छ र त्यसका लागि पहिलेको गाँउ विकास समितिको कार्यालय बनाएको ठाउँ भए सजिलो हुन्छ भन्ने भयो। तर तोकिएको केन्द्र त्यही गाविसमा भए पनि दुरी फरक परेकाले विवाद भएको हो।"

बैशाख ३१ गते तोकिएको स्थानीय चुनावबाट निर्वाचित हुने जनप्रतिनिधिलाई एक पटकका लागि स्थानिय तहको केन्द्र परिवर्तन गर्न पाउने र वडाको केन्द्र पनि हेरफेर गर्न पाउने जस्ता अधिकार दिइएकाले हालको व्यवस्था अन्तरिम रहेको मन्त्रालयको भनाइ छ।

नयाँ स्थानका निम्ति आवश्यक भौतिक पूर्वाधार निर्माण जस्ता काम पनि निर्वाचित स्थानीय सरकारले गर्न सक्ने भन्दै करिब दुई महिना पर्खन मन्त्रालयले आग्रह गरेको छ।