‘रुस-ट्रम्प साँठगाठ अझै अप्रमाणित’

  • 20 मार्च 2017
ट्रम्प तस्वीर कपीराइट EPA

अमेरिकी संसदको गुप्तचर निकाय हेर्ने समितिका अध्यक्षले सन् २०१६ को राष्ट्रपतिय चुनावमा रुस र राष्ट्रपति डोनल्ड ट्रम्पबिच साँठगाँठ भएको कुनै प्रमाण आफूले फेला नपारेको बताएका छन्।

रिपब्लिकन पार्टीका तर्फबाट समितिका अध्यक्ष रहेका डेभिन न्युनेसले रुसले राष्ट्रपति चुनावलाई प्रभावित पार्न प्रयास गरेको आफूलाई लागेपनि त्यसको ठोस प्रमाण अझै नपाएको बताएका हुन्।

रुसले चुनावमा हस्तक्षेप गरे या नगरेको भन्नेबारे प्रमाण प्रस्तुत गर्न अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका प्रमुख उक्त संसदीय समितिमा उपस्थित हुनु एक दिन अघि उनको त्यस्तो भनाइ आएको हो।

फक्स न्युजसँगको अन्तरवार्तामा उनले राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामामाथि लगाइरहेको जासुसी निगरानी सम्बन्धी आरोपबारे पनि बोलेका थिए।

विवाद

संसदको इन्टेलीजेन्स कमिटिका अध्यक्ष डेभिन न्युनेसले आफूले अहिलेसम्म देखेका प्रमाणहरुका आधारमा रुसले डोनल्ड ट्रम्पलाई राष्ट्रपति चुनावमा जिताउन मद्दत गरेको कुनै प्रमाण नभेटिएको बताए।

तस्वीर कपीराइट AP

फक्स न्युजसँगको कुराकानीमा उनले गुप्तचरी विवरणहरु चुहिएर सञ्चारमाध्यमसम्म पुग्नु अपराध भएको बताउँदै त्यस विरुद्ध छानविन गरिनुपर्ने धारणा राखे।

तर डेमोक्र्याटिक दलका नेताहरुले ट्रम्पको अभियान र रुसबिच साँठगाठ रहेको देखाउने पर्याप्त परिस्थितिजन्य प्रमाणहरु रहेकाले उक्त विषयमा छानविन गरिनुपर्ने बताएका छन्।

तर न्युनेसले पूर्ववर्ती ओबामा प्रशासनले आफू विरुद्ध जासुसी निगरानीका लागि आफ्नो मुख्यालयमा 'वायरट्यापिङ' गरेको भन्ने राष्ट्रपति ट्रम्पको भनाइलाई चाहिं चुनौती दिएका छन्।

उनले भने, "राष्ट्रपति स्वयं कतै गएर वायरट्याप गर्ने भन्ने हुँदैन, तर हाम्रो चासो कुनै पनि किसिमको निगरानी गरियो कि गरिएन भन्नेमा छ। अहिलेसम्म पाएको सूचनाले भौतिक रुपमा ट्रम्प टावरमाथि कहिल्यै पनि वायरट्यापिङ गरिएको थिएन भन्ने नै देखाउँछ।"

उक्त आरोप पूष्टी गर्ने कुनै आधार नरहेको बताउने कयौँ वरिष्ठ रिपब्लिकन र डेमोक्र्याट नेतामध्ये उनी पनि एक हुन्।