विवरण दिन रोजगार व्यवसायीद्वारा अस्वीकार

  • 21 मार्च 2017
वैदेशिक रोजगार

वैदेशिक रोजगारीलाई पारदर्शी बनाउने भन्दै सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीसंग मागेको आर्थिक विवरण व्यवसायीहरुले नबुझाउने निर्णय गरेको बताएका छन्।

डेढ वर्ष अगाडि लागु गरिएको निशुल्क भिसा र टिकटको व्यवस्था कार्यान्वयन भए नभएको मूल्यांकन गर्न भन्दै वैदेशिक रोजगार विभागले एकहप्ता भित्र बुझाउने गरी सबै कम्पनीसंग गत हप्ता नै विवरण मागेको थियो।

सबै वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई आर्थिक कारोबार खुल्ने कागजात सहितको विवरण मागिएको एक हप्ते समय सीमा मंगलबार सकिंदैछ।

विभागले व्यवसायीहरुसंग प्रवद्धर्न खर्च देखि कामदार पठाएको कम्पनी, हवाई टिकट नम्बर, र सेवा शुल्क सहितको विवरण मागेको थियो।

अस्वीकार

तर रोजगार विभागमा पहिले नै हिसाब किताब बुझाइसकेकाले पुन: नबुझाउने निश्कर्षमा पुगेको व्यवसायीहरुले बताएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव रोहन गुरुङले भने, "वैदेशिक रोजगार विभागमा सबै विवरण बुझाएपछि मात्र हामीले श्रम स्विकृती पाउँछौं। त्यसरी बुझाइसकेको विवरण विभागले पुन: ल्याउनु भनेको उपयुक्त छैन भन्ने निश्कर्षमा हामी पुगेका छौं। या त विभागमा भएका दस्तावेज वहाँहरुले हराएको हुनुपर्यो, नत्र भने बुझाइसकेको विवरण फेरि माग्नु भनेको गैरजिम्मेवार विषयवस्तु हो भन्ने हाम्रो ठहर छ।"

सरकारले डेढ वर्ष अगाडि कामदारहरुलाई निशुल्क भिसा र टिकटको व्यवस्था गरेर मात्र विदेश पठाउने निर्णय गरेको थियो।

कारवाही

तर निकै चर्चा पाएको उक्त निर्णय अनुरूप काम नभएको र कामदारहरू महंगो मूल्य तिर्न वाध्य भएको गुनासो बढेकाले छानविन थालिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

एक हप्ताभित्र आर्थिक विवरण नआए विभागले व्यवसायीलाई थप तीन दिन समय दिने र त्यतिखेर पनि आदेश पालना नभए कारवाही हुने रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले बताए।

उनले भने, "ऐन बमोजिम कारवाहीको व्यवस्था छ। त्यही अनुरुप निर्णय गर्छौं।"

नेपालमा ७ सय ५४ वैदेशिक रोजगार व्यवसायी कम्पनी छन् र दैनिक सरदर १५ सय नेपालीहरु कामदारको रुपमा विभिन्न मुलुकमा जाने गरेको तथ्याङ्क छ।

रोजगार व्यवसायीहरुले आर्थिक विवरण मागिनु पछाडि गलत मनशाय रहेको भन्ने आरोप लगाइरहंदा कतिपयले भने सरकारी निर्णय कार्यान्वयन नहुने हो की भन्ने आशंका समेत व्यक्त गरिरहेका छन्।