इन्द्रबहादुर राईसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

इन्द्रबहादुर राईसंगको कुराकानी

  • 21 मार्च 2017

नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पु-याएका ९० वर्षीय लेखक इन्द्रबहादुर राई जीवनदेखि सन्तुष्ट भएको बताउँछन्।

सन् १९७७ मा भारतको साहित्य अकादेमीले नेपाली भाषामा योगदानका लागि वार्षिक पुरस्कार दिन शुरु गरेपछि इन्द्र बहादुर राईले 'नेपाली उपन्यासका आधारहरु' पुस्तकका लागि त्यो पुरस्कार जितेका थिए।

पश्चिमा समालोचनाका सिद्धान्तहरु प्रयोग गरेर नेपाली साहित्यको मूल्यांकन गरिएको 'नेपाली उपन्यासका आधारहरु' नेपाली समालोचना क्षेत्रको कोशेढुंगा मानिन्छ, तर राईको साहित्यिक यात्रा भने त्यो उत्कर्षमा पुगेर टुंगिएन।

भारतको दार्जीलिङमा जन्मेका इन्द्रबहादुर राई साहित्यमा विभिन्न प्रयोग र साहित्यमाथिको सैद्धान्तिक चिन्तनका लागि नेपालमा प्रसिद्ध छन्।

नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा पनि उनको योगदान रहेको थियो।

प्रभाव

'विपना कतिपय' र 'आज रमिता छ' जस्ता शुरुवाती कृतिबाट राईले नेपाली साहित्यमा नयाँ पाश्चात्य शैली र विचारधाराको प्रवेश गराएको मानिन्छ।

उनले शुरुवात गरेको आयामेली आन्दोलन र लीलालेखनबाट पछिल्लो पुस्ताका लेखकहरु प्रभावित भएको बताउँछन्।

धेरेजो समय उनी दार्जीलिङमै बिताउँछन्, तर जाडो दिनमा सिलिगुडीस्थित आफ्नै घरमा बस्छन्।

हाल भने ९० वर्षको उमेरमा उनी निकै अस्वस्थ र थकित देखिन्छन्, र धेरै कुरा नगर्ने शुरुमै इंगित गर्दै आयामेली आन्दोलन जस्ता विस्तृत विषयमा प्रवेश नगर्ने बताए।

तर सिलिगुडीमा बीबीसी नेपाली सेवासंग कुरा गर्दै उनले आफुलाई मन परेको आफ्नो कृतिको बारेमा भने उनले उल्लेख गरे।

मन पर्ने कृति

"मन पर्ने र पाठकलाई मन पर्ने कुरा सधैं एउटै हुँदैन," उनले भने।

"तथापि कहिलेकाहिं दुबैको चुनाव मिल्दो रहेछ। करीब ४० वर्ष अघि लेखेको खीर भन्ने एउटा कथा छ, जसलाई नेपाल र भारत दुबैतर्फ पाठकले मन पराएका छन्।

त्यसको सारतत्व यत्ति नै छः मानिसको जीवन मिलेको छैन।

कत्ति चाहन्छौं मिलोस् भनेर। मिठो खीर पकाएर खाउँ भन्दा पनि नसकिए जस्तो! के नपुगेर के नपुगेर!

मानिसको जीवन पनि प्रायः प्रायः त्यस्तै हुन जाँदो रहेछ! अहिले मलाई यस्तै लाग्छ, तपाईंहरुलाई पनि त्यस्तै लाग्दो होला!"

कथा जस्तै जीवन

साहित्यमा बिताएको जीवन पनि झण्डै आफ्नै कृति जस्तै लाग्दोरहेछ उनलाई।

भन्छन्: "साहित्यकारको निम्ति जीवन के थोक हो, हामी बताउनै सक्दैनौं!

त्यसलाई काममा लगाउँछौं, तर पनि हामीले चाहेको जस्तो त्यो काममा लाग्दैन।

केही केही काममा लाग्छ, त्यतिमै सन्तोक मान्न पर्छ जस्तो लाग्छ।

जुन आफैमा पनि हामीले लेखेमा भिन्दै कथा, भिन्दै उपन्यास हुन जानेछ।"

मौलिकतामा जोड

तर त्यस्ता कथा, उपन्यास लगायत नेपाली भाषा साहित्यको पुस्तकको प्रकाशनमा आएको कमीका बारेमा र नेपालका लेखकको अवसानका खबरले पनि उनलाई चिन्तित तुल्याउँदा रहेछन्।

तर जस्तो परिस्थितिमा पनि आफ्नो बाटो खोज्नुपर्ने र आफ्नै पहिचान बनाउनेपर्नेमा उनी जोड दिन्छन्।

"मैले युवा भाइबहिनीलाई सधैं एउटै सन्देश दिएको छुः हामी जहिले पनि आफ्नो बाटो खोजौं। अरुको बाटो नसमातौं।"

युवालाई सन्देश

मौलिक श्रृजनाद्वारा मात्रै साहित्य समृद्ध हुने विचार राख्दै उनी भन्छन्, "साहित्यमा ठूला लेखकलाई पछ्याउन खोज्यौं भने देखि हामी कहींका रहँदैनौं।

हामी कसैको बाटो हिंड्नु हुँदैन।

आफ्नै बाटो खोज्नुपर्छ।

आफ्नै बाटो पहिल्याउन सकेनौं भनेदेखि लेखक कवि नभए पनि भयो।"

सन्तुष्ट उत्तरार्द्ध

बारम्बार "म डुब्दैछु" भनेर राई आफ्नो खराब स्वास्थ्य स्थितिको उल्लेख गरिरहेका थिए, तथापि जीवनको उत्तरार्द्धमा उनी निराश भने देखिंदैनन्।

"म अघिको लेखक फेरि बनुँला भन्ने छैन, तर म सन्तुष्ट छु," आफ्नो जीवनलाई आफ्नै शब्दमा यसरी मूल्यांकन गर्छन् उनी।

"मेरा सबै कृति प्रकाशित छन् वा हुनेवाला छन्, र म एक प्रकारले खुशी व्यक्ति जाँदैछु ।

मर्नुभन्दा अघि सन्तुष्ट व्यक्ति पाउनु कठिन छ। म चाहिं त्यो व्यक्ति हुँ, म सक्छु।"