अमेरिकाद्वारा विमानमा विद्युतीय उपकरण निषेध

  • 21 मार्च 2017
विमानस्थलको सुरक्षा व्यवस्था तस्वीर कपीराइट Reuters

संयुक्त राज्य अमेरिकाले केही व्यस्त विमानस्थल लगायत मध्यपूर्वका १० वटा विमानस्थलबाट सीधै अमेरिका जाने उडानमा यात्रुहरुलाई ल्यापटप, ट्याबलेट, कम्प्युटर र गेम कन्सोलहरु आफ्नो साथमा लैजान निषेध गरेको छ।

आन्तरिक सुरक्षा विभागले आतंकवादीहरुले विमान ध्वस्त पार्ने नयाँ तरिकाहरु खोजिरहेको भन्दै ल्यापटप, ट्याबलेट, क्यामेरा, डिभिडी प्लेयर र विद्युतीय गेमहरुमा बम लुकाउन सकिने बताएको छ।

त्यो नियमले १० वटा विमानस्थलमा सकृय रहेका नौवटा एयरलाइन कम्पनीलाई प्रभावित गर्नेछ।

यात्रुले आफूसंगै लैजान सक्ने सामानमा ठूला विद्युतीय उपकरण राख्न पाउने छैनन्, तर फोन भने लान पाउनेछन्।

त्यस्तो नियम लागू गर्न एयरलाइन कम्पनीहरुलाई छयानब्बे घण्टा दिइएको बताइएको छ भने त्यस्तो प्रतिबन्धको समयसीमा तोकिएको छैन।

'सुरक्षाका लागि'

प्रत्येक दिन मध्यपूर्व, टर्की र उत्तरी अफ्रिकाका सर्वाधिक व्यस्त केही विमानस्थलका ५० भन्दा बढी उडानका यात्रुले नयाँ नियम पालना गर्नुपर्ने एएफपी समाचार संस्थाले बताएको छ।

बीबीसीका सुरक्षा संवाददाता फ्रयाङ्क गार्डनर भन्छन्, "जानकारीलाई मूल्यांकन गरिएपछि त्यस्तो प्रतिबन्ध लागू गरिएको बताइएको छ।"

यसको अर्थ अमेरिकी गुप्तचर संस्थाले सम्भावित आतंकवादी योजनाका बारेमा कुनै जानकारी पाएको अथवा कुनै श्रोतले उसलाई त्यस्तो जानकारी दिएको भन्ने हुन्छ।

अलोकप्रिय

नियम लागू गरिने मध्यपूर्व र उत्तर अफ्रिकाका देशहरुसंग वाशिंगटन नजीकको मैत्रीपूर्ण सम्बन्ध रहेको छ र त्यसकारण यो कदमलाई अति र अलोकप्रिय मानिनेछ।

तर गत वर्ष विद्रोही समूह अल शबाबले सोमालियाको राजधानी मोगादिशुबाट उडेको विमानमा विस्फोटक पदार्थले भरिएको ल्यापटप लगेको घटनापछि उडान सुरक्षा सम्बन्धी विज्ञहरु चिन्तित बनेका थिए।

आन्तरिक सुरक्षा मन्त्री जोन केलीले सप्ताहान्तमा सांसदहरुलाई त्यो प्रतिबन्धका बारेमा बुझाउन बोलाएको संसदीय सहायकहरु बताउँछन्।

त्यस्ता नियमका बारेमा थुप्रै हप्तादेखि विचार गरिएको बताइएको छ।