अमेरिकाद्धारा विमानमा विद्युतीय उपकरण निषेध

  • 21 मार्च 2017
विममानस्थल सुरक्षा व्यवस्था तस्वीर कपीराइट Reuters

संयुक्त राज्य अमेरिकाले मुसलमान बाहुल्य रहेका १० वटा देशका यात्रुलाई आफूसंग ठूला विद्युतीय उपकरण लैजान निषेध गरेको छ।

आन्तरिक सुरक्षा विभागले आतंकवादीहरुले विमान ध्वस्त पार्ने नयाँ तरीकाहरु खोजिरहेको भन्दै ल्यापटप, ट्याबलेट, क्यामेरा, डिभिडी प्लेयर र विद्युतीय गेमहरुमा बम लुकाउन सकिने बताएको छ।

त्यो नियमले १० वटा विमानस्थलमा सकृय रहेका नौ वटा एयरलाइन कम्पनीलाई प्रभावित गर्नेछ। यात्रुले आफूसंगै लैजान सक्ने सामानमा ठुला विद्युतीय उपकरण राख्न पाउने छैनन् तर फोन भने लान पाउनेछन्।

त्यस्तो नियम लागू गर्न एयरलाइन कम्पनीहरुलाई ९६ घण्टा दिइएको बताइएको छ भने त्यस्तो प्रतिबन्धको समयसीमा तोकिएको छैन।

'सुरक्षाका लागि'

प्रत्येक दिन मध्यपुर्व, टर्की र उत्तरी अफ्रिकाका सर्वाधिक व्यस्त केही विमानस्थलका ५० भन्दा बढी उडानका यात्रुले नयाँ नियम पालना गर्नुपर्ने एएफपी समाचार संस्थाले बताएको छ।

बीबीसीका सुरक्षा संवाददाता फ्रयाङ्क गार्डनर भन्छनः "जानकारीलाई मुल्यांकन गरिएपछि त्यस्तो प्रतिबन्ध लागू गरिएको बताइएको छ।"

अर्थात अमेरिकी गुप्तचर संस्थाले सम्भावित आतंकवादी योजनाका बारेमा कुनै जानकारी पाएको छ, अथवा कोही श्रोतले उसलाई त्यस्तो जानकारी दिएको छ।

अलोकप्रिय

नियम लागू गरिने मध्य पुर्व र उत्तर अफ्रिकाका देशसंग वाशिंटनको नजीकको मैत्रीपुर्ण सम्बन्ध रहेको छ र त्यसकारण यो कदमलाई अति र अलोकप्रिय मानिनेछ।

तर गत वर्ष विद्रोही समूह अल शबाबले सोमालियाको राजधानी मोगादिशुबाट उडेको विमानमा विस्फोटक पदार्थले भरिएको ल्यापटप लगेको घटनापछी उडान सुरक्षा सम्बन्धी विज्ञहरु चिन्तित बनेका थिए।

आन्तरिक सुरक्षा मन्त्री जोन केलीले सप्ताहान्तमा सांसदहरुलाई त्यो प्रतिबन्धका बारेमा बुझाउन बोलाएको संसदीय सहायकहरु बताउँछन्।

त्यस्ता नियमका बारेमा थुप्रै हप्तादेखि विचार गरिएको बताइएको छ।