आइएसविरुद्धको गठबन्धनको बैठक

  • 22 मार्च 2017
गठबन्धनको सैनिक तस्वीर कपीराइट Reuters

इस्लामिक स्टेट विरुद्ध संयुक्त राष्ट्र अमेरिकाले नेतृत्व गरेको गठबन्धका ६८ सदस्य राष्ट्रका बैठकको उद्घाटन गर्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलले आइएसलाई पराजीत गर्नु मध्यपुर्वमा अमेरिकाको सबभन्दा ठुलो लक्ष्य रहेको बताएका छन्।

बैठकले सिरिया र इराकमा इस्लामिक स्टेटलाई पराजीत गर्ने प्रयासलाई तीव्रगतिमा अघि बढाउने उद्देश्य राखेको अमेरिकी अधिकारीहरु बताउँछन्।

इस्लामिक स्टेट भनिने समूह विरुद्धको गठबन्धनका अडसठ्ठी देशका मन्त्रीहरु सो समूहलाई ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको योजना सुन्नका लागि आज वाशिंटनमा भेट्दैछन्। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो बैठको आयोजना गर्दैछन्।

शपथग्रहण गरेपछि टिलरसनले सार्वजनिक स्थलमा धेरै बोलेका छैनन्।

योजना

सन् २०१४ यताको सबै देशका प्रतिनिधिको यो पहिलो भेटघाटमा प्रतिनिधिहरुले वाशिंटनबाट लडाकुहरुलाई पराजीत गरेपछि त्यो क्षेत्रलाई सुरक्षित राख्ने योजनाको आश्वासन खोज्ने छन्।

मोसुलमा रहेका बीबीसीका मध्यपुर्व सम्पादक भन्छनः पश्चिमी मोसुललाई आइएसबाट फिर्ता लिने उद्देश्यले गरिएको आक्रमणको आइएसले भयानक प्रतिरोध गरेपछि त्यो अभियान स्थगित गरिएको छ।

सिरियामा विद्रोही र जिहादीहरुले राजधानी दमस्कस भित्र र हामा शहरको उत्तरपट्टि अचानक गरेका आक्रमण बुधबार जारी राखेका छन्।

द्वन्द्व

रक्काको पश्चिममा रहेको एउटा गाउँको विद्यालमाथि हवाइ हमला हुँदा कम्तिमा ३३ जना मारिएको एउटा पर्यवेक्षक समूहले बताएको छ।

हमला अमेरिकी नेतृत्वको गठबन्धका लडाकु विमानले गरेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सको विश्वास छ।

त्यो विद्यालय पुर्णतया ध्वस्त भएको र ५० परिवार हालसम्म बेपत्ता रहेको एउटा अभियानकर्ता समूहले बताएको छ।

गठबन्धनले त्यस विषयमा कुनै प्रतिकृया दिएको छैन।

ध्वस्त

तर सोमबार रक्का नजिकै १९ वटा हमला गरिएको र ती मध्ये तीनले आइएसको मुख्यालय ध्वस्त पारेको बताएको छ।

यसै महिना केही समय अघि उक्त गठबन्धनले सन् २०१४ यता सिरिया र इराकमा गरेको हवाइ हमलामा परेर अञ्जानमा मारिने सर्वसाधारणको संख्या २२० रहेको बताएको थियो।

तर त्यो संख्या त्यो भन्दा निकै ठुलो भएको मानव अधिकारकर्मी समूहहरु मान्दछन्।