लण्डन हमलाः'प्रहरी छापामा आठजना पक्राउ'

  • 23 मार्च 2017
आक्रमण तस्वीर कपीराइट PA

ब्रिटेनका सबैभन्दा वरिष्ठ प्रतिआतंकवाद अधिकारीले लण्डन आक्रमणबारे अनुसन्धान गरिरहेका प्रहरीले बर्मिङगममा ६ वटा घरमा छापा मारेको पुष्टि गरेका छन्।

लण्डन मेट्रोपोलिटन प्रहरीका कार्यवाहक उप-आयुक्त मार्क रावलेका अनुसार आठजनालाई पक्राउ गरिएको छ।

बीबीसीका एकजना संवाददाताका अनुसार लण्डनमा गरिएको आतंकवादी आक्रमणसँग उक्त छापामारी सम्बन्धित छ।

बु्धबार दिउँसो ब्रिटेनको संसद् भवनबाहिर वेस्टमिनस्टर पुलमा एकजना व्यक्तिले पेटीमा हिँडिरहेका मानिसमाथि जानाजान मोटर लगेर जोताएका थिए।

प्रहार

सो क्रममा दुईजनाको ज्यान गएको थियो।

त्यसपछि प्रहरीको गोली प्रहारबाट मारिनुअघि संसद् परिसरभित्र प्रवेश गरी ती व्यक्तिले चक्कु प्रहार गरी एकजना प्रहरी अधिकारीको हत्या गरेका थिए।

कम्तीमा २९ जना घाइते भएका छन्, जसमध्ये सातजनाको स्थिति गम्भीर रहेको अधिकारीहरुले बताएका छन्।

उप-आयुक्त मार्क रावलेका अनुसार आक्रमणकारी अन्तर्राष्ट्रिय आतंकवादबाट प्रभावित भएको देखिन्छ।

प्रहरीलाई आक्रमणकारीको पहिचान थाहा भएको उनले बताएपनि त्यसबारे थप खुलाउन चाहेनन्।