हामी डगमगाउने छैनौँ: प्रधानमन्त्री मे

  • 23 मार्च 2017
संसद् तस्वीर कपीराइट HOC

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले संसद् भवनबाहिर बुधबार आक्रमण गरेका व्यक्ति ब्रिटेनमै जन्मिएको र इस्लामिक अतिवादसँग उनको सम्बन्धबारे सुरक्षाकर्मीले एकपटक अनुसन्धान पनि गरेको बताएकी छन्।

संसद्लाई सम्बोधन गर्दै मेले आक्रमणकारी त्यति महत्वपूर्ण व्यक्ति नभएको र उनले आक्रमण गर्न सक्ने कुनै पूर्व संकेत नपाइएको बताइन्।

आक्रमणमा ज्यान गुमाउनेहरुको सम्झनामा संसद्‍मा एक मिनेटको मौनधारणपछि प्रधानमन्त्री मेले भनिन्, "हामी डराएका छैनौँ। आतंकवादका कारण हामी कदापि डगमगाउने छैनौँ।"

उनले थप प्रहरी र सशस्त्र प्रहरी सडकहरुमा परिचालन गरिने संसद्लाई जानकारी समेत गराइन्।

अर्पण

आक्रमणमा ज्यान गुमाउने प्रहरी अधिकारीले देशका निम्ति जीवन अपर्ण गरेको प्रधानमन्त्री मेले उल्लेख गरिन्।

उनले सबैतिर स्वतन्त्रताप्रेमी मानिसमाथि आक्रमण हुने गरेको जिकिर गरिन्।

प्रधानमन्त्री मेले आक्रमणपछि बर्मिङगममा सुरक्षाकर्मीले ६ वटा घरमा छापा मारेको र सो क्रममा आठजनालाई पक्राउ गरिएको जानकारी संसद्लाई गराइन्।

वेस्टमिन्स्टर पुलमा आक्रमणकारीले मानिसहरुमाथि कार जोताउँदा दुईजनाको ज्यान गएको थियो भने ११ देशका कम्तीमा २९ जना घाइते भएका थिए।

अन्धाधुन्ध

आफ्नो सम्बोधनमा प्रधानमन्त्री मेले बुधबाको आक्रमणलाई प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र विधिको शासनमाथिको हमला भएको संज्ञा दिइन्।

हमलाकारीले निर्दोष मानिसमाथि अन्धाधुन्ध आक्रमण गरेको उनले उल्लेख गरिन्।

सुरक्षा अधिकारीहरुलाई भेट्न लागेको बताएपनि प्रधानमन्त्री मेले आतंकवादका कारण रहेको जोखिमको स्तर नबढाइने बताइन्।

ब्रिटिश रक्षामन्त्रीले संसद्‍मा सुरक्षा दिने सबै प्रहरीलाई हातहतियारले सम्पन्न बनाउनपर्ने वा नपर्नेबारे समीक्षा गरिने बताएका छन्।