‘हतारको’ उत्तर यात्रा

  • 23 मार्च 2017
प्रचण्ड

बोआओ सम्मेलनलाई भर्याङ् बनाउँदै बेइजिङसम्मको यात्रा निश्चित गरेका प्रधानमन्त्री प्रचण्डले यो भ्रमणको सुरुवातमै अनेकौं आशंकायुक्त प्रश्नको सामना गर्नुपरिरहेको छ।

आफ्ना समकक्षी मुलुकमा नहुने पूर्वजानकारी हुँदाहुँदै पनि बेइजिङ दौडाहामा उनले जोड दिएको प्रसङ्ग धेरैलाई जँचेको प्रतीत हुँदैन।

प्रचण्ड बेइजिङ पुग्दा चिनियाँ प्रधानमन्त्री ली खच्याङ् न्यूजिल्याण्डमै हुनेछन् र उनको अनुपस्थितिलाई कुनै पनि सम्झौता नहुने कारणका रुपमा नेपाली पक्षबाट अर्थ्याइएको जस्तो देखिन्छ।

दूरगामी खालका सम्झौताहरुमा समकक्षीहरुको उपस्थिति महत्वपूर्ण रहन्छ नै तथापि, यदि परराष्ट्रमन्त्रीले भनेजस्तै गृहकार्य पुगेको भए, कुनै विषयमा हस्ताक्षर गर्न त्यो कारण बाधक बन्ने थिएन, जसको पुष्टि अन्तर्राष्ट्रिय अभ्यासले पनि गर्छ।

मौका

दक्षिण छिमेकीको बुईँ चढेर सत्तारोहण गरेको आरोप झेलिरहेका प्रचण्डले यदि आफ्ना पूर्ववर्तीले चालेका कदमलाई मूर्त रुप दिन सक्ने भए शायद यो भ्रमण उनलाई उक्त आरोपबाट सङ्लिने एउटा अहम मौका हुने थियो।

तर ठोस उपलब्धिको अपेक्षा झिनो रहेको पृष्ठभूमिमा प्रचण्डले त्यो मौका पनि गुमाएको कतिपयको बुझाइ पाइन्छ।

Image caption प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग आगामी सोमबार बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम छ

गृहकार्य कति हुनुपर्थ्यो, त्यो बेग्लै बहसको विषय हुनसक्छ यद्यपि कार्यकारी भूमिकाका शक्तिशाली चिनियाँ राष्ट्रपतिसँगको भेटको महत्वलाई कम आंक्नसक्ने ठाउँ भने छैन।

महत्व

केपी ओली नेतृत्वको सरकार विस्थापनसँगै नयाँ सत्तारुढ गठवन्धनप्रति चिनियाँ पक्षमा उब्जिएको ठानिएको आशंका मेट्न यो भेट एउटा माध्यम बन्न सक्छ।

तर आफ्ना वाचाहरुबाट बेला,बेलामा बहकिने गरेको आरोप लाग्ने गरेका प्रचण्डको परीक्षा उनी बेइजिङबाट फर्किएपछि विगतका महत्वपूर्ण दुईपक्षीय सम्झौता,सहमतिलाई कसरी मूर्त रुप दिन्छन्, त्यसकै कसीमा हुनेछ।

छोटै भएपनि यो भेट, दुईपक्षीय उच्चस्तरीय संवादलाई निरन्तरता दिने एउटा कडी बन्नेमा ढुक्क हुनेको पनि कमी छैन।

यद्यपि यस्ता भेट र भ्रमणमा प्रायजसो नेपाली पक्षको एकतर्फी लगावमात्रै देखिएको आरोपमाझ चिनियाँ राष्ट्रपतिलाई नेपाल निम्त्याएर दुई पक्षीय सम्बन्धमा कुनै महत्वपूर्ण मोड दिनसके प्रचण्डको सफलता मानिनेछ।