'हमलाकारीको पहिचान गरिएको प्रहरीको भनाइ'

  • 23 मार्च 2017
तस्वीर कपीराइट AP

लण्डनको मेट्रोपोलिटन प्रहरीले बुधबार ब्रिटिश संसद भवन बाहिर हमला गर्ने मानिस ५२ वर्षीय खालिद मसुद भएको जनाएका छन्।

उनी केन्टमा जन्मिएको र वेस्ट मिडल्याण्डसमा बसीरहेको ठानिएको छ।

उनले धारिलो हतियार प्रहार गरी संसद भवनको सुरक्षाकालागि खटिएका प्रहरी किथ पामरको ज्यान लिएका थिए।

त्यस लगत्तै अर्का सुरक्षाकर्मीले प्रहार गरेको गोली लागी उनको ज्यान गएको थियो।

छानबीन

प्रहरीले विगतमा उनलाई विभिन्न मानिसहरुलाई कुटपिट गरेकोमा दोषी पाइएको तर उनी विरुद्ध अहिले कुनै छानबीन भने नचलेको जनाएका छन्।

उनले हमला गर्नसक्छन् भन्ने बारे कुनै सूचना आफुहरुले नपाएको पनि प्रहरीले बताएको छ।

उनलाई यसअघि आतंकवाद संबन्धी कुनै अभियोगमा दोषी ठहराइएको थिएन।

यसअघि ब्रिटेनका सबैभन्दा वरिष्ठ प्रतिआतंकवाद अधिकारीले लण्डन आक्रमणबारे अनुसन्धान गरिरहेका प्रहरीले बर्मिङघममा ६ वटा घरमा छापा मारेको पुष्टि गरेका थिए।

पक्राउ

लण्डन मेट्रोपोलिटन प्रहरीका कार्यवाहक उपआयुक्त मार्क रावलेले आठजनालाई पक्राउ गरिएको बताए।

बु्धबार दिउँसो ब्रिटेनको संसद् भवनबाहिर वेस्टमिनस्टर पुलमा हमलाकारीले पेटीमा हिँडिरहेका मानिसमाथि जानाजान मोटर लगेर जोताएका थिए।

कम्तीमा २९ जना घाइते भएका छन्, जसमध्ये सातजनाको स्थिति गम्भीर रहेको अधिकारीहरुले बताएका छन्।

उपआयुक्त मार्क रावलेले आक्रमणकारी अन्तर्राष्ट्रिय आतंकवादबाट प्रभावित भएको देखिएको बताए।

हमलाको पृष्ठभूमिबारे छानबीन भैरहेको प्रहरीले जनाएको छ।