मतदानमा ढिलाइले ट्रम्पलाई झट्का

  • 24 मार्च 2017
ट्रम्प तस्वीर कपीराइट Getty Images

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संसदमा प्रस्ताव गरेको स्वास्थ्य सेवा सम्बन्धी नयाँ विधेयकमा मतदान गर्ने पूर्व निर्धारित योजनामा ढिलाइ भएको छ।

ट्रम्पकै रिपब्लिकन पार्टीका दुई दर्जन सांसदहरुले उक्त विधेयकमा परिमार्जन नगरिए विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन्।

यसअघिका राष्ट्रपति बराक ओबामाले ल्याएको स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराउने एउटा कानूनलाई प्रतिस्थापन गर्न उक्त विधेयक संसदमा प्रस्तुत गरिएको थियो।

व्हाइट हाउसले भने शुक्रबारै मतदान हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएको छ।

मत

स्वास्थ्य सुधार सम्बन्धी विधेयकमाथिको मतदानलाई पर सार्ने रिपब्लिकन पार्टीको निर्णय आफूसँग त्यसका लागि आवश्यक पर्याप्त मत संख्या नपुगेको भन्ने स्वीकारोक्ति हो।

राष्ट्रपति ट्रम्पले मतदान स्थगित गरिनु केही अघिसम्म पनि बिहिबारै उक्त विधेयक तल्लो सदनले पारित गर्ने बताएका थिए।

तस्वीर कपीराइट EPA

एउटा परम्परावादी समूह द फ्रिडम ककसका प्रतिनिधीहरुले राष्ट्रपति ट्रम्पलाई भेटेका थिए तर पछि तिनका नेताले खासै प्रगति नभएको प्रतिक्रिया दिए।

उक्त समूहले विधेयकमा बीमाकर्ताहरुका लागि प्रस्ताव गरिएको निरोधक उपचार र आपतकालिन सेवा सम्बन्धी प्रावधानहरु हटाउन चाहन्छ।

त्यसो गर्दा बीमाको लागत कम पर्न जाने उक्त समूहको मत छ।

तर त्यस्तो गर्दा धेरै जनाले सेवा नपाउने र आफ्ना अत्यावश्यक माग समेत बीमाले नसमेट्ने भन्दै मध्यमार्गी रिपब्लिकनहरुले चिन्ता जनाइरहेका छन्।

चुनौती

तस्वीर कपीराइट AP

वासिङटनबाट बीबीसीका एन्थोनी जार्चर भन्छन्, "रिपब्लिकनहरुलाई विधेयक संसदमा विफल हुनुभन्दा त्यसलाई पास गर्न समय लाग्नु नै फाइदाजनक हुनेछ।"

विधेयकको असफलताले राष्ट्रपति ट्रम्पको सहमति जुटाउन सक्ने खुबी र दलका अनुदारवादीलाई नियन्त्रण गर्नसक्ने रिपब्लिकन नेता पल रायनको क्षमताबारे गम्भीर प्रश्न उठ्नेछ।

अनुदारवादीहरुको समर्थन जुटाउन विधेयकमा कडा प्रावधानहरु राखिए मध्यमार्गी विचार राख्नेहरुको बाहुल्य रहेको सिनेटमा उक्त कानून पारित गर्न थप कठिन हुने उनको टिप्पणी छ।