मस्कोमा पुटिन र मारीन ल पेनबीच भेट

  • 24 मार्च 2017
लु पेन र पुटीन तस्वीर कपीराइट AP
Image caption ल पेन र पुटिनबीच मस्कोमा भएको भेटले युरोपमा तरंग उत्पन्न गरिदिएको छ।

पुटिनले विदेशमा हुने चुनावअघि कुनै उम्मेदवार विरलै भेट्ने गर्छन्, तर फ्रान्सकी दक्षिणपन्थी राष्ट्रपतीय उम्मेदवार मारिन ल पेनसँगको उनको भेटलाई निकै चासोपूर्वक हेरिएको छ।

पुटिनले त्यो भेटको बचाउ गर्दै भने, "मारिन ल पेनले युरोपेली राजनीतिमा "द्रूत गतिले विकास भइरहेको तत्व"को प्रतिनिधित्व गर्दछिन् र उनले फ्रान्सेली राष्ट्रपतीय चुनावलाई प्रभावित पार्न खोजेका होइनन्।२

अर्को महिना हुने फ्रान्सेली राष्ट्रपतीय चुनाव अघि मस्कोमा पुटिनसँग भएको भेटसंगै दक्षिणपन्थी नेतृ मारिन लअ पेनले निकै ठूलो बाजी मारेको ठानिएको छ।

बचाउ

पुटिनले चाहिँ भेटको बचाउ गर्दै आफूलाई फ्रान्सेली चुनावबारे थाहा भएको, तर पनि सबै राजनीतिक शक्तिसँग वार्ता गर्नसक्ने आफ्नो अधिकार सुरक्षित रहेको बताए।

मारिन ल पेनले रुसले क्राईमिया आफ्नो भूभागमा मिसाएको विरोधमा पश्चिमा देशहरुले रुसविरुद्ध लगाएको नाकावन्दीको विरोध गर्दै आएकी छन्।

उनले रुसविरुद्धका नाकावन्दी फिर्ता हुनु पर्ने पनि बताइन्।

उनले क्राईमिया सधै रुसको भूभाग रहेको बताउँदै आएकी छन्।

टाढा

एक पत्रकार सम्मेलनमा पुटिनका प्रवक्ता डीमीट्री पेस्कोभले रुसी ब्याङ्कहरुले ल पेनको चुनावी अभियानलाई ऋण दिइरहेको भन्ने आरोपबारे आफूसँग कुनै जानकारी नभएको बताए।

गत महिना मारिन ल पेनको न्याशनल फ्रन्ट पार्टीलाई रुसो-चेक ब्याङ्कको ऋण चुक्ता गर्न आदेश दिइएका विवरण सार्वजनिक भएका थिए।

ल पेनलाई फ्रान्सभित्र ठूलो समर्थन मिलिरहेको छ, तर उनका अतिवादी विचारका कारण धेरै विदेशी नेता उनीबाट टाढा रहँदै आएका छ्न्।

मस्कोस्थित बीबीसीका स्टीभ रोजेनबर्ग भन्छन्, "रुसले ल पेनको विचारलाई धेरै रुचाउने गर्छ, त्यही भएर उनी र पुटीनबीचको भेट सम्भव भएको हो।"