कार्यवाहक प्रधानमन्त्री नहुँदा ‘अन्योल’

  • 25 मार्च 2017
प्रचण्ड

मुलुकको कार्यकारी प्रमुखको कार्यवाहक जिम्मेवारी नदिएरै विदेश जाँदा प्रधानमन्त्री प्रचण्डको निर्णय क्षमतामा प्रश्न उठेको भन्दै विज्ञहरुले त्यसको चर्को आलोचना गरेका छन्।

दुईजना उपप्रधानमन्त्रीबीचको मर्यादाक्रम विवाद नमिलेपछि कार्यवाहक प्रधानमन्त्री नतोकेरै प्रचण्ड चीन भ्रमणमा गएका छन्।

बोआओ सम्मेलन हुँदै बेइजिङसम्मको यात्रामा लागेका प्रधानमन्त्री प्रचण्डले सरकार प्रमुखको कार्यवाहक नतोकेर मुलुक तरल राजनीतिक परिस्थितिमा रहेका बेला राज्य सञ्चालनमा अन्योल थपिदिएको विज्ञहरुको टिप्पणी छ।

प्रश्न

तीनजना उपप्रधानमन्त्रीमध्ये एकजनालाई पनि कार्यवाहक तोक्न नसक्नुले प्रधानमन्त्रीको निर्णय क्षमतामा प्रश्न उठेको पूर्वमुख्यसचिव विमल कोइरालाले बताए।

उनले भने, "प्रधानमन्त्रीले तपाईं एक नम्बर, उहाँ दुई नम्बर, उहाँ तीन नम्बर भनेर भन्नु पर्ने हो। कार्यवाहक दिएर जानुपर्दथ्यो। यसबाट उहाँको निर्णय क्षमतामा प्रश्न उठ्यो"।

उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कमल थापाबीचको मर्यादक्रम विवादका कारण कार्यवाहक जिम्मेवारी नदिएको खबरहरु आएका थिए।

बचाउ

अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि उनीहरु दुवैले कार्यवाहक जिम्मेवारी लिन दावी गरेको स्वीकार गरे।

उपप्रधामन्त्री महराले आकस्मिक परिस्थितिमा विदेशबाटै मौखिक निर्देशन दिनसक्ने भन्दै प्रधानमन्त्रीको बचाउ गरे।

उनले भने, "दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापाको बीचमा वरियताको विषयमा अलिकति विवाद छ। यो विषय धेरै ठूलो कुरा त होइन तर अहिले समस्या हल नभएकाले कार्यवाहक नतोकिएको मात्रै हो"।

अप्रत्यासित निर्णय लिनुपर्दा वा मन्त्रिपरिषद्को आकस्मिक बैठक राख्नु परेमा प्रधानमन्त्रीको उपस्थिति खट्किने जानकारहरु बताउँछन्।

तर प्रधानमन्त्रीको कार्यालयले मन्त्रीपरिषद्को बैठक राख्नै परेमा प्रधानमन्त्रीले विदेशबाटै निर्देशन दिनसक्ने जनाएको छ।

मन्त्रीले मन्त्रालयका काम सञ्चालन गर्ने र दैनिक प्रशासनमा समस्या नहुने बताउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीले भने, "अहिले यो बीचमा क्याबिनेट बस्दैन। सम्बन्धित मन्त्रालयको मन्त्री तथा उपप्रधानमन्त्रीहरुले नै काम गर्नुहुन्छ। क्याबिनेट बस्ने परे गाह्रो पर्न सक्छ। तर त्यस्तो स्थितीमा प्रधानमन्त्रीले मौखिक रुपमै आबश्यक निर्देशन दिनुहुन्छ"।

जटिल राजनीतिक परिस्थितिमा प्रमुख भूमिकामा देखिएका दुईजना उपप्रधानमन्त्रीमध्ये एकजनालाई रुष्ट बनाउँदा सत्तासन्तुलनमा अप्ठ्यारो पर्नसक्ने ठानेरै प्रधानमन्त्री कसैलाई कार्यवाहक नदिइ चीन गएको ठानिएको छ।