मोसुलःलडाइँका कारण मानिसहरु भाग्दै

  • 25 मार्च 2017
इराकी तस्वीर कपीराइट jeremy bowen

अमेरिकी नेतृत्वमा हवाई हमला हुन सक्ने त्रास र इराकी स्थलसेनाको भीषण लडाइँका कारण तथाकथित इस्लामिक स्टेटको कब्जामा रहेको मोसुल शहर छाडेर हजारौं इराकी अन्यत्र गइरहेका छन्।

यसै हप्ताको शुरुतिर पश्चिमी मोसुलमा गरिएको हवाई हमलापछि भग्नावशेषमा थुप्रै मानिस पुरिएको खबरहरु बाहिर आएका थिए।

मोसुल शहरका कतिपय बासिन्दाका अनुसार इस्लामिक स्टेटका लडाकुले सर्वसाधारणलाई मानवढाल बनाइरहेको, उनीहरुको घरमा लुकिरहेको र युवाहरुलाई सेनासँग लड्न बाध्य पारिरहेका छन्।

इराकी फौजले मोसुललाई कब्जामुक्त गराउन गत अक्टोबरमा कारबाही शुरु गरेको थियो।

भग्नावशेष

मोसुलबाट भागेर आएकी मुना नाम गरेकी एक महिलाले सयौं शवहरु भग्नावशेषमा पुरिएको एकजना बीबीसी संवाददातालाई बताइन्।

लडाइँमा आफ्नो परिवारका नौ जनालाई गुमाएको उनले जनाइन्।

सरकारी फौज बाक्लो जनसंख्या भएको पुरानो मोसुलतर्फ अहिले बढिरहेको विवरणहरु प्राप्त भएका छन्।

सो क्षेत्रमा ठूलो मात्रामा धुँवाको मुस्लो देख्न सकिन्छ।

शनिबार बिहानै थुप्रै कारबाहीहरु थालिएका थिए।

संयुक्त राष्ट्रसंघले ठूलो संख्यामा सर्वसाधारणको हताहती भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

मानवीय क्षति

कुर्दिश पेशमर्गा लडाकु, सुन्नी अरब आदिवासी र शिया लडाकुहरुको सहयोगमा इराकी फौजले गत जनवरीमा पूर्वी मोसुललाई आइएसको कब्जाबाट मुक्त गराएको थियो।

अमेरिकी नेतृत्वको हवाई हमलामा दर्जनौँ मानिस मारिएको दावीपछि राष्ट्रसंघका एकजना वरिष्ठ अधिकारीले 'ठूलो मानवीय क्षति'प्रति शुक्रबार चिन्ता व्यक्त गरेका छन्।

मानवीय क्षतिबारे एउटा अनुसन्धान भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

ठ्याक्कै कहिलेको हवाई हमलामा ती मानिसले ज्यान गुमाएका हुन् भन्ने कुरा थाहा हुन सकेको छैन्।

तर मोसुलको छिमेकी शहर जादिदेहस्थित संवाददाताहरुले शुक्रबार भग्नावशेषबाट ५० वटा शव निकालिएको आफूहरुले देखेको बताएका छन्।

यसै महिनाको शुरुतिर गरिएका हवाई हमलाबाट ध्वस्त भएका भवनहरुबाट ती शवहरु निकालिएको उनीहरुले जनाएका छन्।