मोसुल हमलाबारे अमेरिकाले छानविन गर्ने

  • 26 मार्च 2017
मोसुल तस्वीर कपीराइट JEREMY BOWEN

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पश्चिम मोसुलमा ठूलो संख्यामा गैरसैनिक हताहती भएको क्षेत्रमा आफू नेतृत्वको गठबन्धनले हवाई हमला गरेको स्वीकार गरेको छ।

अमेरिकी मध्य कमान्डले भनेको छ, एक हप्ता भन्दा अघिको उक्त हवाई हमलाबारे छानविन शुरु गरिएको छ।

उसले इस्लामिक स्टेटका जिहादीहरुले विद्यालय र अस्पताललाई किल्ला बनाएर सर्वसाधारणहरुलाई मानवीय ढालका रुपमा प्रयोग गरिरहेको आरोप लगाएको छ।

एक जना स्थानीय बासिन्दाले एक सय भन्दा बढी मानिसहरु अझै पनि भग्नावशेषमा पुरिएको हुनसक्ने बताए।

हमला

अमेरिकी मध्य कमान्डले इराकी सुरक्षा फौजको आग्रहमा विमानहरुले हवाई हमला गरेको जानकारी दिएको छ।

तर कुन देशको विमानले त्यो हमला गर्यो भनेर खुलाइएको छैन।

एउटा विज्ञप्तिमा उसले गएको मार्च १७ मा पश्चिम मोसुलमा गरिएको हवाई हमला र गैर सैनिक हताहती भएको भनिएको भूभाग एउटै जस्तो देखिएको भन्दै त्यसबारे गम्भीरतापूर्वक छानविन अघि बढाइएको उल्लेख गरेको छ।

तस्वीर कपीराइट JEREMY BOWEN

अझै विस्तृत विवरणहरु आइसकेको छैन तर हवाई हमलामा १ सय भन्दा बढी मारिएको समाचारहरुमा जनाइएको छ।

इराकस्थित राष्ट्रसंघीय मानवीय सहयता संयोजक लिस ग्रान्डे भन्छिन्, "त्यहाँका अधिकांश बस्तीहरु एकदमै साँघुरा गल्लीहरुमा छन्, त्यही भएर त्यहाँ खुल्ला क्षेत्रमा हवाई हमला हुदाँ भन्दा निकै नै धेरै प्रभाव पर्यो, त्यही भएर मलाई यति ठूलो क्षति भयो जस्तो लाग्छ।"

संकट

एक जना इराकी उपरराष्ट्रपतिले बढी बल प्रयोग गरिएकाले मोसुलमा मानवीय संकट देखा परिरहेको टिप्पणी गरेका छन्।

तर त्यसरी ज्यान गुमाउने व्यक्तिहरुको संख्या स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन्।

तस्वीर कपीराइट Reuters

मोसुलबाट भागेका एक जना व्यक्तिले अझै पनि सयौं शवहरु भग्नावशेषमा पुरिएको जानकारी दिएका छन्।

शुक्रबार पश्चिम मोसुलबाट भग्नावशेषमा पुरिएका ५० वटा शव बाहिर निकालिएको आफूहरुले देखेको उक्त स्थान नजिकै पुगेका संवाददाताहरुले जनाएका छन्।

यसैबीच इराकी स्थल फौजको आक्रमण र सम्भावित अमेरिकी गठबन्धनको हवाई हमलाको डरले मोसुलका हजारौँ वासिन्दा सुरक्षित स्थानतर्फ भागिरहेका छन्।

स्थानीय बासिन्दाहरुले पनि इस्लामिक स्टेटले सर्वसाधारणहरुलाई मानवढालका रुपमा प्रयोग गरेको, आफ्ना घरभित्र आश्रय लिएको र युवाहरुलाई लड्न बाध्य पारेको जनाएका छन्।