‘ओबीओआरमा छिट्टै हस्ताक्षर’

  • 26 मार्च 2017
प्रचण्ड तस्वीर कपीराइट PM_Secretariat

सोमबार बेइजिङमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता हुँदा प्रधानमन्त्री प्रचण्डले 'वान बेल्ट वान रोड'को प्रस्तावमा सहमति व्यक्त गर्ने परराष्ट्रमन्त्रीले जनाएका छन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको पूर्वाधार विकासमा समेत महत्वपूर्ण हुने ठानिएको उक्त प्रस्तावमा हस्ताक्षर गर्ने समयबारे भने प्रस्ट खुलाएनन्।

प्रधानमन्त्री प्रचण्ड स्वयमले एसिया हुंदै युरोप र अफ्रिकासँग सडक सञ्जाल तथा समुद्री मार्गले जोड्ने एवम् पूर्वाधारमा लगानी गर्ने महत्वाकांक्षी चिनियाँ योजना 'वान बेल्ट, वान रोड'मा सहमति जनाउने प्रतिवद्धता दोहोर्याएका थिए।

विकास

चिनियाँ उपप्रधानमन्त्रीसँगको भेटमा त्यस्तो वचन दिएका उनले बेइजिङस्थित नेपाली दूतावासमा शनिबार आयोजित कार्यक्रममा भने, "हामी यो विषयमा सहमत छौं कि चीनले ल्याएको 'वान वेल्ट, वान रोड' परियोजनाबाट नेपालले प्रशस्त फाइदा उठाउन सक्छ। म खुशी छु र आशा गर्छु कि चीनले नेपालको लागि गरेको निरन्तर सहयोगले हाम्रो आर्थिक विकासमा मद्दत पुग्नेछ"।

चीनले नेपालसँग आधिकारिक सहमति खोजेको उक्त परियोजनामा विगतमा नेपालले पटक-पटक सकारात्मक जवाफ दिएपनि लिखित सहमति दिएको छैन।

'वान वेल्ट, वान रोड' परियोजनालाई चीनले आफ्नो आर्थिक प्रभाव युरोप, अफ्रिका र एसियासम्म विस्तार गर्न ल्याएको महत्वाकांक्षी आयोजनाको रुपमा धेरैले हेर्छन्।

आशंका

चिनियाँ राष्ट्रपति सी जिनपिङले ल्याएको उक्त योजनाप्रति भारतीय अधिकारीहरु भने सशंकित देखिने गरेका छन्।

प्रधानमन्त्री प्रचण्डसँग चीन पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले टेलिफोनमा बीबीसीसँग भने, "अहिले त समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छैन। तर त्यसको तयारी पूरा भएको छ र दुवै पक्षलाई यो राम्ररी थाहा छ। चाँडो भन्दा चाँडो त्यसमा हस्ताक्षर हुनेछ। त्यसमा दुईमत छैन"।

विश्वका ६० भन्दा धेरै देशलाई जोड्ने 'वान बेल्ट, वान रोड' योजनाबाट नेपालको आर्थिक, पूर्वाधार विकास, स्वतन्त्र व्यापार जस्ता विषयमा सघाउ पुग्ने ठानिएको छ।