हंगकंगमा नयाँ प्रमुख कार्यकारी

  • 26 मार्च 2017
तीन तस्वीर कपीराइट Reuters

हंगकंगकी नवनिर्वाचित प्रमुख कार्यकारीले अर्धस्वायत्त उक्त चिनियाँ भूभागमा मानिसहरुबीच रहेको मतभेद हटाउनु आफ्नो मुख्य प्राथमिकता रहने बताएकी छन्।

विशेष रुपमा नियुक्त झण्डै १२ सय जना सदस्य भएको एउटा समितिले क्यारी लामलाई प्रमुख कार्यकारी पदमा चयन गरेको हो।

सो समितिका अधिकांश सदस्य बेइजिङप्रति वफादार थिए।

यसअघि उपप्रमुख पद सम्हालिसकेकी ५९ वर्षीया लामले समितिको झण्डै आधा मत प्राप्त गरेकी थिइन्।

समर्थन

चीन सरकारलाई समर्थ गर्दै आएकी लाम नै विजयी हुने अपेक्षा गरिएको थियो।

यद्यपि निर्वाचनअघि गरिएका मत सर्वेक्षणले हंगकंगका अधिकांश बासिन्दाले लामका प्रतिद्वन्द्वी एवम् पूर्व अर्थ सचिव जोन संङलाई समर्थन गरेको देखाएका थिए।

प्रजातन्त्र समर्थक अभियानकर्मीले सो निर्वाचनलाई 'लज्जास्पद' भन्दै खारेज गरेका थिए।

हंगकंग चीनकै एउटा भाग भएपनि बेइजिङबाट एक हदसम्म स्वायत्त छ।

निराशा

प्रमुख पदमा चयन भएपछिको सम्बोधनमा लामले भनिन्, "हाम्रो घर हंगकंग गम्भीर मतभेदबाट गुज्रिरहेको छ र यहाँ थुप्रै निराशाहरु छन्। विभाजनलाई हटाउनु मेरो प्राथमिकता हुनेछ।"

हंगकंगको सभाकेन्द्रमा उनले सबैखाले आवाजको आफूले कदर गर्ने गरेको भन्दै 'युवाहरुको शक्तिको उपयोग गर्ने' बताइन्।

उनले थपिन्, "प्रगतिका निम्ति हामी सबैलाई अगाडि पुर्याउन उनीहरु सधैं अग्रपंक्तिमा हुन्छन्।"

नवनिर्वाचित प्रमुख कार्यकारी लामले 'समावेशिता, प्रेस स्वतन्त्रता, मानअधिकारको सम्मान र विधिको शासन' जस्ता हंगकंगका 'मूल मान्यता'लाई आफूले कायम राख्ने वाचा समेत गरिन्।