भारु साट्ने अधिकतम सीमाबारे ‘मतभेद’

  • 26 मार्च 2017
नोट तस्वीर कपीराइट AFP

भारतले प्रतिबन्ध लगाएका एक हजार र पाँच सय दरका नोट प्रतिव्यक्ति कतिसम्म साट्न दिने भन्नेमा दुई देशका अधिकारीबीच जारी वार्तामा मतभेद देखिएको राष्ट्र ब्यांकका अधिकारीले बताएका छन्।

कानूनी रुपमा प्रतिव्यक्ति राख्न दिइएको अधिकतम २५ हजारसम्म साट्नुपर्ने अडान नेपाली पक्षको छ।

तर भारतीय अधिकारी केही हजार मात्र साट्न तयार देखिएको बताइएको छ।

प्रतिबन्धित नोट साट्ने समयसीमा भारतमा सकिएको तीन महिना हुन लाग्दा नेपालमा रहेका भारतीय नोट साट्ने विषयमा दुवै पक्षबीच कुरा अघि बढेको देखिएको छ।

निर्क्योल

पटक-पटकका द्वीपक्षीय छलफलपछि नेपाल भारतीय अधिकारी त्यसलाई निर्क्योलमा पुर्याउन अहिले काठमाण्डूमा बैठकमा व्यस्त छन्।

भारत नेपालमा रहेका प्रतिबन्धित भारतीय रुपैयाँ साट्न तयार भएको जनाउँदै छलफलमा उत्पन्न मतभेदको विषयबारे राष्ट्र ब्यांक डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, "तीन हजार पनि भने पाँच हजार पनि भने। विभिन्न खालका प्रस्तावहरु आएका छन्। त्यसले गर्दा हामी निचोडमा पुगेका छैनौं। निचोडमा नपुगेसम्म कसले के भने कसले के भने भन्ने कुराको खासै अर्थ रहँदैन।"

ब्यांकिङ प्रणालीमा रहेका प्रतिबन्धित नोट साट्न भारतीय पक्ष यस अघि नै तयार भइसकेको थियो।

सर्वसाधारणसँग भएका नोट साट्न विश्वसनीय विधि, प्रक्रिया र मापदण्ड बनाउन आफूहरु तयार रहेको कुरा नेपाली पक्षले भारतीय अधिकारी समक्ष राखेका छन्।

तर नेपालले यसअघि वैधानिक रुपमा राख्न दिइएको अधिकतम २५ हजार रुपैयाँ साट्नुपर्ने अडान राखेको छ।

अडिग

डेपुटी गभर्नर सिवाकोटी भन्छन्, "एकजना नेपालीले २५ हजारसम्म उक्त दरका नोट राख्न पाउने व्यवस्था थियो। भनेपछि वैधानिक रुपले राख्न दिएका नोट त साट्दिनुपर्यो नि। हामी मापदण्डमा लचिलो छौं तर २५ हजारको कुरामा अडिग छौं।"

सोमबार हुने वार्ता निर्णायक हुने अधिकारीहरुको भनाई छ।

खुला सीमा भएकाले भारतमा लुकाइएको भनिएको कालोधन साट्न नेपाललाई दिइने सटही सुविधा दुरुपयोग नहोस् भन्नेमा भारतीय अधिकारीले चासो देखाएको बताइएको छ।

व्यावसायी र सर्वसाधाणसँग बाहेक नेपालका ब्यांकिङ प्रणालीमा करिब ८ करोड रुपैंया बराबर भारतीय एक हजार र पाँच सयदरका नोट रहेको विवरण राष्ट्र ब्यांकसँग छ।

भारत सरकारले गत नोभेम्बर ८ तारिखमा एक हजार र पाँच सयमा नोटमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकलाई ती नोट साट्न डिसेम्बर अन्त्यसम्म समय दिएको थियो।