रुसमा प्रमुख विपक्षी नेता पक्राउ

  • 26 मार्च 2017
नाभाल्नी पक्राउ तस्वीर कपीराइट Reuters

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको आह्वानमा हजारौं मानिसले मस्को र अन्य शहरमा भ्रष्टाचार विरोधी प्रदर्शनमा भाग लिएका छन्।

भ्रष्टाचारको आरोपित प्रधानमन्त्री दिमित्रि मेदभेदेभको राजीनामा माग गर्दै हजारौं मानिसले देशभर जुलुसमा भाग लिएका छन्।

अरु पनि थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरिएको मस्कोमा ठूलो संख्यामा प्रहरी खटाइएका छन्।

धेरै जुलुस अधिकारीहरुको अनुमति बिना आयोजना गरिएका थिए।

नाभाल्नी गिरफ्तार

टेलिभिजनका दृश्यमा प्रदर्शनकारीहरु "पुटिन मुर्दावाद!", "पुटिनबिनाको रुस!" भनेर चिच्याइरहेका देखिन्थे।

मस्कोको मध्यमा भइरहेको जुलुसमा भाग लिन पुग्दा नाभाल्नीलाई गिरफ्तार गरिएको थियो।

प्रहरीले भ्यानमा हालेर उनलाई लिएर जान खोज्दा प्रदर्शनकारीहरुले भ्यान रोक्न खोजेका थिए।

गिरफ्तारीपछि ट्वीट गर्दै उनले अन्य प्रदर्शनकारीलाई प्रदर्शन जारी राख्न आह्वान गरे।

थुप्रै पक्राउ

उनले ट्वीटमा भनेका छन्, "म ठीकै छु। मलाई बाहिर निकाल्नका लागि लड्नुपर्दैन। मस्कोको मुख्य सडकमा हिंडिराख। हाम्रो आजको उद्देश्य भ्रष्टाचारविरुद्धको लडाइँ हो।"

एएफपी समाचार संस्थाका अनुसार एउटा अधिकारकर्मी समूह ओभिड इन्फोले बताएको छ, मस्कोमा कम्तीमा १३० जना गिरफ्तार गरिएका छन् र प्रहरीले भीडलाई तितरबितर पार्नका लागि पीरो पदार्थहरु छर्केको थियो।

गैरनाफामूलक संस्थाहरुको सञ्जालमार्फत मेदभेदेभ महल, जहाज र बगानहरुका मालिक भएको दावी गर्दै नाभाल्नीले एउटा प्रतिवेदन प्रकाशित गरेका थिए।

त्यसपछि उनले देशभर विरोध प्रदर्शन गर्ने आह्वान गरेका थिए।

प्रधानमन्त्रीले त्यस दावीबारे कुनै टिप्पणी गरेका छैनन्।

अनुमति बिना

सेन्ट-पिटर्सबर्ग लगायत अन्य शहरमा पनि प्रदर्शन गरिएका छन् र थुप्रै मानिस पक्राउ पनि परेका छन्।

नाभाल्नीले सन् २०१८ मा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पुटिनविरुद्ध उम्मेदवारी दिने योजनाको घोषणा गरेका छन्।

एउटा मुद्दामा दोषी पाइएपछि उनलाई उम्मेदवार बन्न निषेध गरिएको छ तर त्यो मुद्दा राजनीतिकरण गरिएको उनको भनाई छ।

९९ वटा शहरमा प्रदर्शनको आयोजना गरिएको तर तीमध्ये ७२ वटामा अधिकारीहरुले त्यसका लागि अनुमति नदिएको उनले आफ्नो वेबसाइटमा बताएका छन्।