रुसी नेता पक्राउको अमेरिकाद्वारा निन्दा

  • 27 मार्च 2017
रुस तस्वीर कपीराइट Reuters

अमेरिकि विदेश मन्त्रालयले भ्रष्ट्राचार विरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएका विपक्षी नेता एलिक्से नभालनी सहितका प्रदर्शनकारीहरुको रिहाइको माग गरेको छ।

मस्को र देशका अन्य शहरहरुमा भएका विरोध र्यालीबाट नभालनी सहित ९ सय जना आइतबार पक्राउ परेका थिए।

ती मध्ये अधिकांश प्रदर्शन सरकारको स्वीकृति नलिई गैरकानुनी रुपमा आयोजना गरिएका थिए।

प्रदर्शनकारीले पदको दुरुपयोग गरि अकुत सम्पति कमाएको आरोप लगाउँदै रुसी प्रधानमन्त्री डिमित्री मेडभेडेभको राजीनामा मागेका थिए।

प्रदर्शन

टेलिभिजनमा प्रशारित भिडियोहरुमा 'पुटिन बिनाको रुस' लगायतका नारा प्रदर्शनकारीहरुले लगाएको सुनिन्छ।

मध्ये मस्कोको र्यालीमा भाग लिन जाने क्रममा विपक्षी नेता नभालनीलाई पक्राउ गरिएको थियो।

प्रदर्शनकारीहरुले उनलाई गिरफ्तार गरि लैजानबाट प्रहरीलाई रोक्न खोजेका थिए।

तस्वीर कपीराइट EPA

गिरफ्तारीपछि समाजिक सञ्जाल ट्विटरमार्फत उनले विरोध प्रदर्शन जारी राख्न आह्वान गरे।

उनले लेखेका छन्, "साथीहरु म ठिक छु। मेरो रिहाईको माग गर्दै लड्नु आवश्यक छैन, मस्कोको मुख्य शहरहुँदै अघि बढ्नुहोस। आजको हाम्रो विषय भ्रष्ट्राचार विरुद्धको लडाईं हो।"

प्रहरीले उनको कार्यालयमा प्रवेश गरि विरोध कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका कर्मचारीलाई पनि गिरफ्तार गरेको थियो।

संवाददाताहरु भन्छन् पछिल्लो विरोध कार्यक्रम सन् २०११/१२ मा भएका सरकार विरोधी प्रदर्शन यताकै सबैभन्दा ठूलो हो।

वासिङटनले मस्को सहित रुसका विभिन्न स्थानमा भएका भ्रष्ट्राचार विरोधी प्रदर्शनबाट विपक्षी नभालनी लगायत सयौँलाई पक्राउ गरिएकोमा निन्दा गरेको छ।

अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता मार्क टोनरले शान्तिपूर्ण प्रदर्शनमा भाग लिएका सबैलाई रिहा गर्न माग गर्दै उनीहरुको गिरफ्तारी प्रजातान्त्रिक मूल्य मान्यता विपरित भएको बताएका छन्।

उनले भने,"हामीले स्थितिलाई नजिकबाट नियालीरहेका छौँ र शान्तिपूर्ण रुपमा प्रदर्शन गर्नेहरुलाई रिहा गर्न रुसलाई अनुरोध गर्छौ।"

आरोप

एलिक्से नभालनीले प्रधानमन्त्री डिमित्री मेडभेडेभसँग उनको आम्दानीसँग मेल नखाने ठूला बंगला, र पानीजहाज रहेका विवरण प्रकाशित गरेका थिए।

तस्वीर कपीराइट AP

तर प्रधानमन्त्रीका एक प्रवक्ताले ती आरोपहरुको खण्डन गरेकी छन्।

एलिक्से नाभलनीले सन् २०१८ को चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध उम्मेदवारी दिने घोषणा गरेका थिए।

तर एउटा मुद्दामा दोषी पाइएपछि उनले उम्मेदवारी दिन नपाउने भएका छन्।

त्यसलाई आफू विरुद्धको राजनीतिक पूर्वाग्रहका रुपमा उनले प्रस्तुत गर्ने गरेका छन्।

उनको वेबसाइटका अनुसार ९९ वटा शहरमा प्रदर्शन आयोजना गर्ने योजना बनाइएपनि ७२ वटामा सरकारी अधिकारीहरुले स्वीकृति नदिएको जनाइएको छ।