‘मतदाता नामावली पूरा नहुँदा परिचयपत्र छपाइमा ढिलाइ’

  • 27 मार्च 2017
निर्वाचन आयोग

स्थानीय चुनावको निम्ति मतदाता नामावली संकलन अझै पूरा नभएकाले अहिलेसम्म पनि मतदाता परिचयपत्र छपाई शुरु हुन नसकेको निर्वाचन आयोगले जनाएको छ।

हालसम्म ६६ जिल्लाबाट मात्रै मतदाता नामावली प्राप्त भएको र बाँकी जिल्लाको विवरण २० गतेसम्ममा आउने आयोगको अपेक्षा छ।

चुनौतिपूर्ण

चुनावको मिति करिब डेढ महिना मात्र बाँकी रहँदा परिचय पत्र मतदाताको हातहातमा पुर्याउन चुनौतिपूर्ण हुनसक्ने बताइएको छ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि अत्यावश्यक मतदाता परिचयपत्र छपाइका निम्ति ओम्नि ग्रुप नामक कम्पनीलाई जिम्मा दिइसकेको जनाएको छ।

प्रत्येक मतदाता परिचयपत्र छपाइका निम्ति करिब १० रुपैया पर्ने गरि सम्झौता गरिए पनि कहिलेदेखि छपाइ गर्ने भन्नेबारे हालसम्म टुंगो नलागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।

"अन्तिम मतदाता नामावली तयार भएपछि मात्र उसले छाप्न सक्छ। २० गतेसम्म त्यो तयार पार्ने योजनामा हामी छौं," उनले भने।

निगरानी

हालसम्म विभिन्न जिल्लाबाट प्राप्त मतदाता नामावली सम्बन्धी विवरण अध्यावधिक गर्ने काम भैरहेको आयोगको भनाइ छ।

ती विवरण निर्वाचन आयोगका कम्युटर ईन्जिनियरहरुको प्रत्यक्ष नियन्त्रणमा हुने र आयोगकै निगरानीमा मतदाता परिचयपत्रको छपाइको कार्य हुने आयोगले बताएको छ।

मतदान अधिकृत स्थानीय तहमा खटाइनु अगावै मतदाताको परिचयपत्र सुरक्षित तवरले हातहातै पुर्याउने आयोगको तयारी छ।

तर घर्किंदै गएको समयका कारण त्यो कार्य निकै कठिन हुने जानकारहरुको भनाइ छ।