‘द्वीपक्षीय सम्झौता कार्यान्वयन गर्न निर्देशन’

  • 27 मार्च 2017
सम्बोधन तस्वीर कपीराइट Prachanda's website

चिनियाँ राष्ट्रपतिले नेपाल र चीनबीच पारवहन तथा व्यापार लगायत विषयमा यसअघि भएका सम्झौता एवम् समझदारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताएको चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्रीले बताएका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग बेइजिङमा सोमबार भएको भेटवार्तामा राष्ट्रपति सी जिनपिङले त्यस्तो जानकारी गराएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताए।

चीनका लागि नेपालका एकजना पूर्व राजदूतले विगतमा भएका समझदारी कार्यान्वयनका लागि चिनियाँ शीर्षस्थ नेताबाट पुनः प्रतिबद्धता आउनु महत्वपूर्ण कुरा भएको प्रतिक्रिया दिएका छन्।

एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पारवहन, व्यापार लगायत विषयसँग सम्बन्धित १० वटा सम्झौता एवम् समझदारीमा हस्ताक्षर भएको थियो।

कार्यान्वयन

त्यसलाई अगाडि बढाउन वर्तमान सरकारले चासो नदेखाएको आरोप लागिरहेका बेला चिनियाँ राष्ट्रपति सीसँग सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले ती सम्झौता एवम् समझदारी कार्यान्वयनको कुरा उठाएको भेटमा सहभागी परराष्ट्रमन्त्री महतले बताए।

त्यसमा चिनियाँ राष्ट्रपतिको जवाफबारे जिज्ञासा राख्दा महतले भने, "ती विषयवस्तुलाई गम्भीरताका साथ लिनुभयो र यसमा सम्बन्धित निकायलाई मैले निर्देशन पनि दिइसकेको छु त्यसलाई अगाडि बढाउन। र त्यसमा आवश्यक अध्ययन र अहिले जे टुंग्याउन सकिन्छ त्यसलाई टुंग्याउन मैले निर्देशित गरिसकेको छु भनेर भन्नुभयो।"

आफ्नो भ्रमणका बेला पूर्व प्रधानमन्त्री ओलीले चीनको रेल नेपालसम्म विस्तार गर्न र नेपालभित्रै पनि विभिन्न शहरलाई रेलबाट जोड्ने काममा चीनको सहयोग मागेका थिए जसप्रति चिनियाँ पक्षले सकरात्मक जवाफ दिएको थियो।

रेल विस्तारबारे सोमबारको भेटमा चाहिँ चिनियाँ राष्ट्रपतिले के भने त?

जवाफमा परराष्ट्रमन्त्री महतले भने, "त्यसमा उहाँले के भन्नुभयो भने सम्बन्धित निकायले यसबारे अध्ययन गर्छ र त्यसको सम्भाव्यता लगायत एउटा परिपक्व स्थितिपछि त्यसको आधारमा अघि बढाउन सकिन्छ। हामी रेल्वे र एकअर्कालाई जोड्ने सञ्जाल अघि बढोस् भन्ने पक्षमा छौँ।"

सहयोग

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा कुनै सम्झौता वा समझदारीमा हस्ताक्षर हुने तय भएको थिएन।

उक्त पृष्ठभूमिमा नेपालका प्रधानमन्त्रीसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपतिले राखेका कुराले के अर्थ राख्छ भन्ने जिज्ञासामा चीनका लागि नेपालका एकजना पूर्व राजदूत महेश मास्केले भने, "चीनसँगको समझदारीलाई विकास गर्ने र प्रतिबद्धताहरुलाई पुनः जोड दिने कुरा थियो त्यो उहाँहरुले प्राप्त गरेको देखिन्छ। राष्ट्रपति सी जिनपिङको स्तरबाट सम्बन्धित निकायलाई निर्देशन गइसकेको भन्नु चाहिँ मलाई लाग्छ धेरै ठूलो कुरा हो।"

परराष्ट्रमन्त्री महतका अनुसार चिनियाँ राष्ट्रपतिले नेपालमा जुनसुकै पार्टीको नेतृत्वमा सरकार भएपनि द्वीपक्षीय सम्बन्धमा कुनै असर नपर्ने बताएका थिए।

चुनाव गर्ने निर्णयको स्वागत गर्दै चीनले साढे १३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेको महतले बताए।

बोआओ फोरममा भाग लिन चीन गएका प्रधानमन्त्री र उनको टोली सोमबार नै बेइजिङबाट सिचुआनतर्फ लागेको र सो टोली ल्हासा हुँदै बुधबार नेपाल फर्कने बताइएको छ।