जापानमा हिमपहिरोमा विद्यार्थीको मृत्यु

  • 27 मार्च 2017
उद्धारकार्य तस्वीर कपीराइट AFP

राजधानी टोकियोबाट १२० किलोमिटर उत्तर तर्फ गएको हिमपहिरोमा परेर विद्यार्थी र शिक्षक गरी आठजनाको ज्यान गएको छ।

त्यस्तै ३० जनाभन्दा बढी घाइते भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ।

हिमपहिरो टोकियोबाट १२० किलोमिटर उत्तर पर्ने तोच्हिगी क्षेत्रको नास्सू नगर नजिकै सोमबार बिहान गएको थियो।

नासू नगर वरपर थुप्रै स्कि रिजोर्टहरु छन्।

उद्धार

नाडी नचलेको अवस्थामा रहेका आठजनालाई हिउँबाट उद्धार गरिएको छ।

हिमपहिरो गएको बेलामा सात विद्यालयका ६० जनाभन्दा बढी विद्यार्थीहरु राजधानी टोकियोबाट उत्तरतर्फ रहेको तोच्हिगी क्षेत्रको नास्सू नगर नजिकैको स्की रिजोर्टमा थिए।

विद्यार्थीहरु बृहत् स्तरको पर्वतारोहण कार्यक्रममा सहभागी हुन त्यहाँ गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यहाँ दुई दिनदेखि ठूलो हिमपात भइरहेको छ र आइतबारयता त्यो ठाउँमा ३० सेन्टिमिटरभन्दा बढी हिउँ थपिएको छ।

अनुभव

घटनाबाट बाँच्न सफल एक विद्यार्थीले ठूलो सेतो थुप्रो आफूहरुतर्फ आइरहेको देखेको र प्रशिक्षकले उनीहरुलाई त्यसबाट बच् भन्दै कराएको बताए।

स्थानीय अधिकारीहरुले त्यहाँ हिमपहिरो जानसक्ने चेतावनी दिएका थिए।

त्यो स्थानमा उद्धारकार्य जारी छ तर खराब मौसमले उद्धारकार्यमा बाधा पुर्याइरहेको छ।

घटना स्थलमा अझै हेलिकप्टर पुग्न सकेको छैन।

खतरा अझै

जापानस्थित बिबिसी संवाददाता रुपर्ट विङगफिल्ड हेजका अनुसार जापानमा उद्धारकार्यमा संलग्न अधिकारीहरु आफैंले उद्धार गरिएका मानिसको मृत्यु भएको पुष्टि गर्दैनन्।

उनीहरु चिकित्सकबाट आधिकारिक रुपमा ती मानिसको मृत्यु भएको पुष्टि पर्खन्छन्।

त्यो स्थानमा हिमपहिरो जानसक्ने खतरा अझै बाँकी छ।