रुसी विपक्षी नेतालाई १५ दिन कैद

  • 27 मार्च 2017
एलेक्सेइ नाभाल्नी तस्वीर कपीराइट AFP

रुसका विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई भ्रष्टाचारविरुद्धको गत पाँच वर्षकै सरकारविरोधी ठूलो प्रदर्शनको क्रममा प्रहरी आदेशको अवज्ञा गरेको अभियोगमा १५ दिनको कैद सजाय सुनाइएको छ।

भ्रष्टाचारविरोधी प्रदर्शनको क्रममा उनीसहित १०० जना पक्राउ परेका थिए।

नाभाल्नीले मस्कोको अदालतमा कुनै गल्ती नगरेको बताउँदै आफ्नो जोडदार बचाउ गरेका थिए।

रुसभर भएका भ्रष्टाचारविरुद्धका पछिल्ला प्रदर्शनलाई गत पाँच वर्षकै सरकारविरोधी ठूलो प्रदर्शन मानिएको छ।

साक्षी

प्रदर्शनका क्रममा प्रहरीको आदेशको नमानेको आरोपमा पक्राउ परेपछि अदालतमा उपस्थित गराइएका विपक्षी नेता नाभाल्नीले प्रधानमन्त्री दिमित्रि मेड्भेडेवलाई साक्षीको रुपमा उपस्थित गराउन माग गरेका थिए।

तर अदालतले उनको कुरा सुनेन।

मेड्भेडेवले भ्रष्टाचार गरेको नाभाल्नीले आरोप लगाउँदै आएका छन्।

क्रेम्लिनले पछिल्ला प्रदर्शनलाई कसैले नियोजित रुपमा उक्साएको आरोप लगाउँदै प्रदर्शनकारीलाई समात्ने प्रहरीको कदमको बचाउ गरेको छ।

राष्ट्रपति कार्यालयका एकजना प्रवक्ताले प्रदर्शनमा सहभागी हुन आएका कैयौं युवालाई आयोजकले पैसा तिरेर ल्याइएको बताए।

तर नाभाल्नीले प्रधानमन्त्री मेड्भेडेवविरुद्धका भ्रष्टाचारका आरोप दोहोर्याएका छन्।

आरोप

तीनै आरोपका कारण आइतबार रुसका सेन्ट पिर्टर्सवर्ग र मस्को लगायतका प्रमुख शहरहरुमा प्रदर्शनहरु भएका थिए।

सोमबार अदालतमा उपस्थित हुनुअघि नाभाल्नीले ट्वीटरमार्फत सन्देश दिंदै भ्रष्टाचारमा संलग्न हुनेलाई अदालतको कठघरामा उभ्याउँने समय अवश्य आउने बताएका थिए।

अदालतमा बयान दिने क्रममा नाभाल्नीले मेड्भेडेवकै क्रियाकलापका कारण ९९ वटा रुसी शहरमा मानिसलाई सडकमा उत्रिन बाध्य तुल्याएको बताउँदै उनलाई अदालतमा बोलाउनुपर्ने बताएका थिए।

नाभाल्नीका एक वकिलका अनुसार उनले पुनरावेदन अदालतमा आफू निर्दोष रहेको जिकिर गर्दै निवेदन दिनेछन्।

राष्ट्रपति पुटिनका कट्टर आलोचक रहेका नाभाल्नीले सन् २००८ देखि नै भ्रष्टाचारविरोधी अभियान थाल्दै आएका हुन्।

उनले सन् २०१८मा राष्ट्रपतिको चुनावमा लड्ने योजना यसअघि नै सार्वजनिक गरिसकेका छन्।