भीषण आँधीबेहरीले अष्ट्रेलियामा क्षति

  • 28 मार्च 2017
अष्ट्रेलिया तस्वीर कपीराइट EPA

अष्ट्रेलियाको उत्तर-पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधीबेहरीका कारण ठूलो क्षति हुनुका साथै दशौँ हजार घरहरुमा विद्युत आपूर्ति काटिएको छ।

'साइक्लोन डेबी' नाम दिएको उक्त आँधीले क्विन्सल्याण्ड राज्यमा सबैभन्दा बढी प्रभाव पारेको छ।

त्यहाँ २६३ किलोमिटर प्रतिघण्टा वेग रहेको उक्त आँधीसँगै भीषण वर्षा भइरहेको खबर छ।

शुरुमा एकदमै शक्तिशाली अर्थात 'चौथो क्याटेगोरी'मा राखिएको उक्त आँधीको शक्ति केही कम भएपछि 'तेश्रो क्याटेगोरी' मा झार्न लागिएको विवरणहरुमा उल्लेख छन्।

‍आंकलन

तर अझै पनि उक्त आँधीले जनधनको क्षति गर्न सक्ने आंकलन गरिएको छ।

तस्वीर कपीराइट EPA

डेबी आँधीका कारण अहिलेसम्म एकजना गम्भीर घाइते भएको विवरणहरुमा जनाइएको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री म्यालकम टर्नबुलले विपद् प्रतिक्रिया योजनालाई कार्यान्वयन गरेको संसद्लाई जानकारी गराएका छन्।

अधिकारीहरुले पूर्ण क्षतिको विवरण आउने केही समय लाग्ने बताएका छन्।

प्रहरी आयुक्त इयान स्टेवार्टले भने, "हामीले मानिसहरुको मृत्यु भएको विवरण नपाउन सक्छौँ तर धेरै क्षति भएको र मानिसहरु घाइते भएका विवरण आउनेछन्।"

क्विन्सल्याण्डकी सरकार प्रमुख एनसटेजा प्यालासेले समुदायमा विद्युत र सञ्चार सम्पर्कविच्छेद भएकाले क्षतिको मूल्यांकन गर्न गाह्रो हुने प्रतिक्रिया दिएकी छन्।

उनले आँधीका कारण ढलेको पर्खालले पुरेर एकजना पुरुष घाइते भएको बताइन्।

बिजुली

तस्वीर कपीराइट EPA

बोवेन भन्ने ठाउँ नजिकै पनि घरका छानाहरु उडाउनुका साथै गोठहरु भत्किएका र रुखहरु ढलेका विवरणहरु आएका छन्।

विद्युत सेवाप्रदायकहरुले बिजुलीको आपूर्ति शुरु हुने समयबारे केही भन्न नसकिने बताएका छन्।

अधिकारीहरुले मानिसहरुलाई आँधीबेहरी नरोकिएसम्म घर बाहिर ननिसक्न भनिरहेका छन्।

स्थानीय अग्नि नियन्त्रकहरुलाई समेत आँधीको गति घटेर ८० किलोमिटर प्रतिघण्टा नहुँदासम्म बाहिर नजान निर्देशन दिइएको छ।

साइक्लोन डेबीको प्रभाव आगामी तीनदेखि पाँच दिनसम्म देखिने ठानिएको छ।

आपतकालीन

तस्वीर कपीराइट EPA

सन् २०११ यताकै सबैभन्दा शक्तिशाली उक्त आँधी आउने भविष्यवाणी गरिएपछि २५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लगिएको थियो।

मंगलबार क्विन्सल्याण्ड क्षेत्रमा १५०-५०० मिलिमिटर वर्षा हुने बताइएको छ र बाढी आउने समेत चेतावनी दिइएको छ।

झण्डै दुई हजार आपतकालीन उद्दारकर्ताहरुलाई तयार अवस्थामा राखिएको छ र आपतकालीन रुपमा खाद्यान्न र इन्धनको जोहो गरिएको छ।

अष्ट्रेलियाको बीमा काउन्सिलले साइक्लोन डेबीलाई एउटा ठूलो विपद् भनेको छ।

आँधीबेहरीका कारण क्विन्जल्याण्डका सबै विद्यालयहरुमा विदा दिइएको छ र टाउन्सभिलसहित अर्को एउटा विमानस्थल बन्द गरिएका छन्।