सेनालाई मोसुलमा रणनीति समीक्षा गर्न आग्रह

  • 28 मार्च 2017
भत्केको घर तस्वीर कपीराइट Reuters

संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी निकायका प्रमुखले पश्चिमी मोसुलमा इस्लामिक स्टेट समूह विरुद्धको आक्रमणमा इराकी सेना र अमेरिकी नेतृत्वको गठबन्धनको फौजले तुरुन्तै आफ्नो रणनीतिको पुनरावलोकन गर्नुपर्ने आह्वान गरेका छन्।

जेइद राद अल हुसैनले आइएस र गठबन्धन फौजका पछिल्ला आक्रमणमा परी ठूलो संख्यामा ज्यान गएकोप्रति गहिरो दुख व्यक्त गरेका छन्।

उनले गत फेब्रुअरी महिनायता त्यस क्षेत्रमा कम्तीमा तीन सय गैरसैनिक व्यक्तिको ज्यान गएकोबारे पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

राष्ट्रसंघीय मानव अधिकार नियोग प्रमुख जेइद राद अल हुसैनका अनुसार मोसुलका कैयौं भवनहरुमा आइएसले गैरसैनिक व्यक्तिलाई मानव ढालको रुपमा प्रयोग गरी छोडेर गएको पाइएको छ।

ती भवनहरुमा पछि गठबन्धन फौजले हवाइ हमला गरेको पाइएको उनको भनाइ छ।

क्षति न्यूनीकरणमा जोड

उनले सबै द्वन्द्वरत पक्षलाई मानिसहरुलाई त्यस्ता भवनमा फसाउन बन्द गर्न र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छ्न्।

मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरन्याशनलले गठबन्धनले गैरसैनिकको ज्यान बचाउनका लागि पर्याप्त सावधानी अपनाउन नसकेको आरोप लगाएको छ।

सो संगठनले मोसुलका कैयौ भवनमा त्यहाँ आश्रित परिवारहरु सबैको ज्यान जाने गरी हवाइ हमला भएका प्रमाणहरु फेला परेको बताएको छ।

गठबन्धन सेनाका अधिकारीहरुले गैरसैनिकहरुमाथि हुन सक्ने क्षति तथा हानी कम गर्न आफूहरुले सबै किसिमको सावधानी अपनाउने गरेको बताउँदै आएका छन्।

इराकी सरकारी फौजले पाँच महिनाअघि आइएस नियन्त्रणमा रहेको मोसुललाई पुन: आफ्नो नियन्त्रणमा लिन सैन्य कारवाही थालेका थिए।