चिनियाँ नागरिक मारिएपछि फ्रान्समा विरोध

  • 28 मार्च 2017
विरोध प्रदर्शन तस्वीर कपीराइट Reuters

फ्रान्सेली प्रहरीको हातबाट एकजना चिनियाँ नागरिक मारिएको घटनाप्रति बेइजिङले विरोध जनाएपछि फ्रान्सले चीनका नागरिकहरुको सुरक्षा उच्च राष्ट्रिय प्राथमिकतामा रहेको जनाएको छ।

मारिएका मानिसप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार प्रदशर्नकारीहरु एउटा प्रहरी चौकी अगाडि जम्मा भएका थिए।

लिय शाओयोको परिवारबाट घरेलु हिंसासम्बन्धी प्रतिवेदन दर्ता गरिएपछि त्यहाँ पुगेका प्रहरीलाई उनले कैंचीले आक्रमण गरेको प्रहरीको भनाइ छ।

तर उनको परिवारले त्यो बयानको खण्डन गरेको छ।

घटना

पाँच सन्तानका पिता छपन्न वर्षीय लिउ शाओयोलाई आइतबार राति प्यारिसमा गोली हानेर मारिएको थियो।

प्रहरी उनको ढोकामा पुग्ने बित्तिकै उनले एकजना अधिकारीलाई कैंचीले आक्रमण गरेको र बुलेटप्रुफ लुगा लगाएको भएर मात्रै ती अधिकारी बाँचेको प्रहरीले बताएको छ।

त्यसपछि उनलाई अर्का अधिकारीले गोली हानेर मारेका थिए।

तर उनको परिवारका वकिलले लिउ शाओयोको परिवारले त्यस्तो बयान पूर्णतया अस्वीकार गरेको बताएका छन्।

फ्रान्सेली भाषा धेरै नजान्ने लिउ माछा पकाउनका लागि चलाइरहेको कैंची लिएर ढोका खोल्न गएको उनकी एकजना छोरीले सञ्चारमाध्यमलाई बताएकी छिन्।

प्रहरीले ढोका फोडेर आफ्नो बाबुलाई गोली हानेको उनको भनाइ छ।

आह्वान

घटनाका बारेमा चीनको विदेश मामिला मन्त्रालयले औपचारिक रुपमा गुनासो गरेको छ र फ्रान्सेली अधिकारीहरुलाई त्यो घटनामाथि प्रकाश पार्न र चिनियाँहरुको सुरक्षा र अधिकार सुनिश्चित गर्न हरसम्भव प्रयास गर्न आह्वान गरेको छ।

चीनको यस्तो किसिमको हस्तक्षेप असामान्य भएको प्यारिसबाट बीबीसीका ह्यु शोफिल्ड बताउँछन्।

बेइजिङस्थित सरकारले विगतमा प्यारिसमा चिनियाँ पर्यटकहरुलाई आपराधिक गिरोहबाट हुने खतराका बारेमा चेतावनी दिने गरेको थियो।

तर उसले अप्रत्यक्ष रुपमा फ्रान्सेली प्रहरीको कदमलाई आलोचना गरेको यो पहिलोपटक हो।

सोमबार भएको विरोध प्रदर्शनमा "हत्याराहरु" भनेर चिच्याउँदै करिब १५० जनाले भाग लिएका थिए।