ब्रिटिश प्रधानमन्त्रीद्वारा इयु छाड्ने पत्रमा हस्ताक्षर

  • 29 मार्च 2017
टरिजा मे तस्वीर कपीराइट PA

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले ब्रिटेनले युरोपेली युनियन छाड्ने प्रकृयाको औपचारिक थालनी गर्ने गरि बनाइएको पत्रमा हस्ताक्षर गरेकी छन्।

ब्रेक्जिट सम्बन्धी उक्त पत्र युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कलाई बुधबार हस्तान्तरण गरिनेछ।

छलफल शुरु

पत्र हस्तान्तरण पश्चात ब्रिटेनको इयुसंग रहेको ४० वर्ष लामो सम्बन्ध तोडिने सन्दर्भमा शर्तहरुबारे दुई वर्ष लामो छलफल शुरु हुनेछ।

युरोपेली युनियनसम्बन्धी लिस्बन सन्धी अन्तर्गतको धारा ५० बमोजिम दिनुपर्ने सूचना सहितको उक्त पत्र बुधबार युरोपेली परिषदका अध्यक्ष समक्ष बुझाइनेछ। इयुका निम्ति ब्रिटिश राजदूतले सो पत्र बुझाउनेछन्।

लगत्तै प्रधानमन्त्री मे ले सांसदहरु समक्ष इयुबाट ब्रिटेन अलग्गिने प्रकृयाको औपचारिक शुरुवातबारे बताउनेछिन्।

सो प्रकृया अन्तर्गत इयुबाट छुट्टिने शर्तहरुबारेका लामा छलफलका दौरान आफुले संयुक्त अधिराज्यमा रहेका हरेक व्यक्तिको अधिकार सुरक्षाका निम्ति लागिपर्ने उनले बताउनेछिन्।

निश्चित

गत जुनमा भएको जनमत संग्रहमा ब्रेक्जिट पक्षधर विजयी भएपछि ब्रिटेनको इयुसंगको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो।

धारा ५० कृयाशील भएपछि अब एप्रिल २९ तारीख ब्रिटेन बाहेकका युरोपेली शीर्ष नेताहरुको शिखर सम्मेलनले युरोपेली आयोगलाई ब्रिटेनसंग अलग्गिने शर्तबारे वार्ता थाल्न जिम्मेवारी र अधिकार दिनेछ।

मे महिनामा आयोगले सो आदेश अनुसार वार्ताका निम्ति निर्देशिका जारी गर्नेछ भने मे वा जुन महिनाबाट औपचारिक वार्ता शुरु हुनेछ।

मंगलबार राती ब्रिटिश प्रधानमन्त्री मे ले युरोपेली परिषदका अध्यक्ष टुस्क, युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यङ्कर तथा जर्मन चान्सलर एंगेला मर्कलसंग धारा ५० कृयाशील गर्न लागेको बारे कुराकानी गरेकी थिइन्।