संगीतकार शान्ति ठटालसंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

संगीतकार ठटालसंगको कुराकानी

  • 30 मार्च 2017

नेपाली चलचित्रकी प्रथम महिला संगीतकार शान्ति ठटालले भारतको दार्जिलिङ र सिक्किममा थुप्रै गीत र नृत्य नाटिकाहरुमा संगीत दिएकी छिन्।

भारतको दार्जिलिङको चोकबजारमा १९३७ मा जन्मेकी शान्ति ठटाल भन्छिनः घरमा कुनै गीत संगीतको वातावरण थिएन।

तर आर्य समाजी पिताको पछि लागेर उनी भजन कीर्तन गर्ने ठाउँहरुमा भने पुगिरहन्थिन्, र हरेक ठाउँमा गाउने बजाउने गर्दथिन।

"पढाइ लेखाइमा मन लाग्दैनथियो," उनी सम्झिन्छिन्।

"लता मंगेशकरहरुका गीत गाउँथें, र म सानैदेखि त्यस्ता गीत गाउन सक्थें।

अनि त आठ क्लासमा पढ्दा पढदै म कोलकाता पुगें र संगीत सिक्न थालें।"

शुरुवाती दिन

कोलकातामा निकै दुःख गरेर संगीत सिकेको सम्झिन्छिन् उनी, "सानो कोठामा बसेर दुःख गर्दै।

गरममा रियाज गर्नुपर्थ्यो तानपुरामा, पसिना पसिना हुन्थें दार्जिलिङको मान्छे।"

त्यसैबेलामा उनले चार वटा गीत पनि रिकर्ड गराएकी थिईन्, र अझै पनि गाउँछिन उनीः

चाँदनी ए चाँदनी, तिमी छौ शीतल पथमा….

घोर अँध्यारो नासी जगतमा, पार्छौ जगमग भूतलमा….

कोलकातामा विभिन्न पूर्वीय र पश्चिमी शैलीका संगीतमा पारंगत भइन उनी, तर त्यस्तो अभ्यासले आफ्नो स्वर भने बिगारेको उनको अनुभव छ।

संगीत श्रृजना

"स्वरमा एक किसिमको रुखोपना आयो र मैले गाउन सक्न छोडें," उनी भन्छिन्।

"अनि म त पढाइहरु सबकुछ त्यागेर संगीत सिकेको मान्छे। संगीतको दुनियामा बाँचीराख्नका लागि मैले संगीत कम्पोज गर्न थालेकी हुँ।"

नेपाली चलचित्रकी पहिलो महिला संगीतकार बन्न पुगेकी ठटाल यसरी अचानक संगीत श्रृजनाको क्षेत्रमा पुगेको बताउँछिन्।

सबभन्दा पहिले उनले दुइवटा गीत कम्पोज गरिन्: आफ्नै भाउजुले भानुभक्तका बारेमा लेखेको गीत, र अम्बर गुरुङको शब्दमा संगीत।

"त्यो गीत सुनेपछि अम्बर गुरुङले पनि मलाई भन्नुभयोः यत्तिको संगीत त मैले पनि दिन सक्दिनथें, भनेर" उनी सम्झिन्छिन्।

परालको आगो

त्यसपछि थुप्रै श्रष्टाले उनलाई शब्दहरु दिन थालेः संगीत कम्पोज गरिदिने आग्रह गर्दै।

ती मध्ये एक थिए कवि इश्वर बल्लभ।

उनको 'एउटा नीलो सूर्यास्त' भन्ने कवितामा ठटालले क्याण्टाटा भनिने पश्चिमा शैलीमा संगीत भरेपछि धेरैले उनलाई भनेः जस्तो शब्द त्यही अनुसारको संगीत भयो।

र त्यही गीत सुनेर नै दार्जिलिङमा बनेको नेपाली चलचित्र परालको आगोका निर्देशक प्रताप सुब्बाले उनलाई आफ्नो चलचित्रमा संगीत दिन अनुरोध गरे।

उडी जाउँ भने म पन्छी होइन, बस्नु ए लै मन छैन…..

असमको मोहनी लागेर हो कि, होश यो मेरो यहाँ छैन….."

प्रेरणा

त्यसपछि उनले दार्जिलिङ र सिक्किममा थुप्रै गीत र नाटकहरुमा संगीत श्रृजना गरिन्, लोक धुन देखि लिएर पश्चिमा संगीत सबैको प्रयोग गरिन्।

अझैसम्म पनि संगीत श्रृजना छोडेकी छैनन् उनले, तर आफूलाई पहिलेजस्तो श्रृजनशील पाउँदिनन् उनी।

"प्रेरणा भन्ने कुरा कहाँ लुकेको हुन्छ थाहा हुँदैन," उनी भन्छिन्।

"कहिले त प्रेरणा झट्टै आइहाल्छ, कतै त्यहीं शब्दमै धुन लुकेर बसेजस्तो।

कहिले चाहिं एउटै गीतलाई कति दिन लाग्छ, टाउको ठोकेर लाग्दा पनि आउँदैन।

तर उमेर हुँदा चाहिं सजिलै सकिंदो रहेछ।"

र जति उमेर बढ्दै जान्छ, त्यति प्रेरणा कम आउने उनको अनुभव छ।

"मैले अम्बर गुरुङको एउटा अन्तर्वार्ता पढेकी थिएँ। त्यहाँ उनले भनेका थिएः पहिले त म एक दिनमा चार-पाँचवटा गीतमा संगीत भर्थें।

अहिले त एक महिना लाग्छ। हो, मलाई पनि त्यस्तै हुन्छ।

आजकाल गीतमा धुन भर्न निकै गाह्रो हुन्छ। मैले कर्मा योञ्जनलाई पनि देखाएँ त्यो अन्तर्वार्ता, उनको पनि त्यस्तै अनुभव रहेछ।"

'स्वर्णिम युग'को सम्झना

८० वर्षको उमेर पुग्दासम्म पनि उनले संगीत श्रृजना छोडेकी त छैनन्, तर नेपाली संगीतको स्वर्णिम युग भनिएको सन् १९६० को दशकको जस्तो उत्साह भने अहिले नभएको उनी स्वीकार्छिन्।

"त्यतिबेला माहोल नै अर्कै थियो," उनी भन्छिन्।

"संगीतमा केही गरौं भन्ने खालका मानिसहरु थिए, उनीहरु उत्साहपूर्वक लागेपछि मर्मस्पर्शी र सदाबहार गीतहरु पनि बने।

नेपालका नातीकाजी, शिवशंकर, तारादेवी, उनीहरुले कस्ता कस्ता गीत रचना गरेका थिए।

अहिले पनि त्यस्ता गीत रुचाइन्छन्, तिनीहरुलाई नेपाली संगीतको उच्च कलाकृति भनेर सबैले मान्दछन्।

तर त्यस्ता गीत भने बन्न छोडेका छन् आजकाल, र त्यो वातावरण नहुँदा हामीलाई पनि त्यस्ता गीत श्रृजना गर्न त्यति सजिलो छैन।"

नेपाल भ्रमण

त्यो स्वर्णिम युगका धेरै मिठा सम्झनाहरु छन् उनीसंग, राजा महेन्द्रको ज्नमोत्सवका लागि नेपाल आएर राजालाई गीत सुनाएको सम्झिन्छिन् उनी।

"अरुणा लामा, उनका पति शरण लगायत हामी थोरै मात्रै आएका थियौं दार्जीलिङबाट, पुष्प नेपालीले हामीलाई लगेका थिए।

राजा महेन्द्रले मञ्चमा गएर सोधेः दार्जिलिङबाट किन यत्ति थोरै जना आएका?

हामीले केही भन्न सकेनौं, खाली हामी यत्ति नै आयौं मात्रै भन्यौं।"

उनको त्यो नेपाल भ्रमण निकै नै स्मरणीय बनेको रहेछः पुष्प नेपालीले एकदिन रेडियो स्टेशन लगेको पनि उनी सम्झिन्छिन्।

नियम तोडर गायन

"त्यहाँ त हामीलाई गीत पो गाउनु भन्न थाले। हामी दिनभरी घुमेर निकै थाकेका थियौं, कुनै तयारी पनि थिएन।

तर पनि शरण प्रधानले राम्रो मेण्डोलिन बजाउँथे, र अरुणाले त मेण्डोलिनमा गाइहालिन्।

म त हार्मोनियम विना गाउनै जान्दिन, हार्मोनियम छ भने गाउँछु भनें।

तर त्यतिबेला सबै रेडियो स्टेशनमा हार्मोनियम निषेध गरिएको रहेछ।

त्यसोभए त म गाउँदिन भनें मैले।

त्यसपछि वहाँहरुले नियम तोडेर कहाँ थन्क्याएको हार्मोनियम ल्याउनुभो।

धुलो ड्याम्मै थियो। त्यसलाई पुछपाछ गरीवरीकन मैले पाँचवटा जति गीत गाएँ।"

उनी अझै सम्झिन्छिन् त्यो दिन आफ्नै संगीतमा गाएको गीतः

सम्हालेर राख, संगालेर राख

फेरि फुल्ने हो कि होइन, जोबनको फूल

यसलाई राख, साँची साँची राख

चाहे झरोस् विरानीमा निशानी भइ फूल

"हामी नेपालमा रहुञ्जेल हामीले रेडियो स्टेशनमा गाएका गीतहरु दिनरात रेडियोबाट बजिरहन्थे। त्यो बडा खुशीको क्षण थियो।"

'ङ्लो' संगीत

सिलिगुडीस्थित निवासमा बसेर संगीतमा बिताएको जीवनलाई फर्केर हेर्दा सन्तुष्ट पाउँछिन् उनी आफूलाई।

"संगीतलाई साह्रै हलुका लिएको रहेछु भन्ने मलाई भर्खर अहिले ज्ञान हुँदैछ," उनी भन्छिन्।

"तर अहिले आएर संगीत कति गहिरो र महत्वपूर्ण चीज रहेछ भन्ने थाहा पाएँ।

संगीत त ईश्वरको आराधना भनिन्छ, साधना भनिन्छ।

त्यो ग-यो भने चाहिं पछि गएर सजिलोसंग संगीत पानी जस्तै सङ्लो भएर जाँदो रहेछ।

र यही सङ्लो र गहन संगीत नै मेरो जीवन हो।"