'इयुबाट बाहिरिनु ऐतिहासिक क्षण'

  • 29 मार्च 2017
संसदमा टरीजा मे तस्वीर कपीराइट PA

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले इयुको सबैभन्दा नजिकको मित्र र साझेदारका रुपमा ब्रिटेनले इयुसँग विशेष सम्बन्ध कायम राख्ने आशा गरेको बताइन्।

इयुका लागि ब्रिटेनका दूतले ब्रसल्समा धारा ५० लागू गर्नेबारे एउटा चिठी हस्तान्तरण गरेर ब्रिटेनको बहिर्गमन औपचारिक रुपमा शुरु गरेपछि उनले संसद्लाई सम्बोधन गरेकी हुन्।

दुइ वर्षभित्रमा सबै कुरामा सहमति गर्नु चुनौतीपूर्ण हुने भन्दै उनले बहिर्गमनका शर्तका साथसाथै भविष्यका सहकार्यका शर्तमा पनि सहमति हुनु जरुरी रहेको बताइन्।

एक अर्काका क्षेत्रमा ब्रिटेन र इयुका अधिकारका बारेमा चाँडै सहमतिका लागि उनले आह्वान गरिन्।

चेतावनी

शीतयुद्धको अन्त्ययता युरोपको सुरक्षा सबैभन्दा कमजोर भएको भन्दै उनले सहमति हुन नसकेमा चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिइन्।

उनले भनिन्, "अब हामी आफ्नो निर्णयहरु आफैं गर्नेछौं र कानुनहरु आफैं बनाउनेछौं। अझ बलियो र न्यायपूर्ण ब्रिटेन बनाएर हामी यो मौकाको उपयोग गर्नेछौं। र, हामी यस्तो देश बनाउने छौं जसलाई आफ्नो घर भन्दा हाम्रा सन्तानले गर्व गर्नेछन्।"

ब्रिटेनको सो कदमको प्रतिक्रिया दिंदै युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले यसलाई खुशीको दिन भन्नुपर्ने कुनै कारण नभएको बताए।

उनले भने, "ब्रिटेनको बहिर्गमनले हामी बाँकी २७ राष्ट्रलाई अझ प्रतिबद्ध र एकताबद्ध बनाएको छ। म यसको बारेमा विश्वस्त छु।"

टुस्कले अबको लक्ष्य भनेको क्षति न्यूनीकरण गर्नु अर्थात इयुका नागरिक, व्यापारी र सदस्य देशका लागि ब्रिटेनको बहिर्गमनको मूल्य सकेसम्म कम गर्नुरहेको बताए।

जर्मन चान्सलर एंगेला मर्केलले न्यायपूर्ण सहमति खोजेको भन्दै ब्रिटेन र इयुको भावी सम्बन्धबारे चर्चा गर्नुभन्दा अघि ब्रिटेनको इयुप्रतिका जिम्मेवारीका बारेमा निर्णय गरिनुपर्ने बताइन्।