चुनाव हुनेमा शंका नगरौँ:प्रधानमन्त्री

  • 29 मार्च 2017
सम्बोधन तस्वीर कपीराइट Prachanda's website

संविधान संशोधन र स्थानीय तह निर्वाचनमा सबै राजनीतिक दलको सहभागितबारे व्याप्त अन्योलमाझ चीनबाट बुधबार फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्डले निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन्।

करिब एक साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन प्रक्रिया धेरै अगाडि बढिसकेको र तराई केन्द्रित दलहरु पनि सहभागी हुने विश्वास व्यक्त गरे।

यद्यपि चुनावी तयारी अघि बढिरहँदा सरकारले राजनीतिक सहमतिका लागि गरेको प्रयासले ठोस परिणाम दिन सकेको जस्तो देखिएको छैन।

तराई केन्द्रित दलहरु आफ्ना माग पूरा नभएसम्म चुनाव भाग नलिने अडानमा कायमै छन्।

आशंका

दलहरुबीच सहमति हुन नसक्दा निर्वाचनको मिति सर्ने हो कि भन्ने आशंका व्यक्त भइरहँदा प्रधानमन्त्री प्रचण्डले निर्वाचनको बारेमा शंका नगर्न आग्रह गर्दे भने, "निर्वाचनको काममा हामी धेरै अगाडि बढिसक्यौँ। तयारी धेरै पर पुगिसक्यो। अब पनि चुनाव हुन्छ र भन्नु जनतामा भ्रम सिर्जना गर्नुमात्रै हुन्छ। त्यसैले अब त्यो प्रश्न नगर्नु नै राम्रो।"

चीन भ्रमणका क्रममा भेटेका चीनका राष्ट्रपति, उप-प्रधामन्त्री लगायत सबैले नेपालमा दलीय सहमतिले निर्वाचन होस् र राजनीतिक स्थिरताको वातावरण बनोस् भनेर शुभकामना दिएको प्रधानमन्त्री प्रचण्डले बताए।

निर्वाचन प्रयोजनका लागि करिब १४ करोड रुपैयाँ अनुदान सहयोग दिने वचन समेत चीन सरकारले दिएको छ।

चीन जानु केही घण्टा पहिलेसम्म तराई केन्द्रित दललाई सहमतिमा ल्याउन प्रयास गरेका प्रधानमन्त्री उक्त प्रयासमा विफल भएका थिए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले छलफलका लागि केही दिन चाहिने धारणा राखेपछि नमिलेका विषयलाई मिलाउने जिम्मा सरकारी कार्यदललाई दिइएको थियो।

विश्वास

उक्त सरकारी कार्यदलले सहमति जुटाउने र त्यसकै आधारमा तराई केन्द्रित दलहरु चुनावमा आउने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे।

उनले भने, "कार्यदललाई के भनेर गएको थिएँ भने म फर्किएर आउने बेलासम्म सबै दस्तावेज तयार पारिसक्नुहोला। आएपछि एकपटक बैठक बसेर टुंग्याउनु भनेको थिएँ। मलाई के विश्वास छ भने मधेशी मोर्चा पनि निर्वाचनमा आउँछ।"

तर प्रधानमन्त्रीले जिम्मेवारी दिएपनि सरकारी कार्यदलले भने सहमति जुटाउन सकेको भने देखिएको छैन।

सरकारी कार्यदलसँग छलफलका लागि तोकिएका मोर्चाका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री चीन भ्रमणमा गएयता सरकारी कार्यदलसँग छलफल भएपनि सहमति जुट्न नसकेको बताए।

उनका अनुसार सरकारी कार्यदलले ल्याएको प्रस्ताव र मोर्चाले ल्याएको प्रस्तावबीच मतभेद कायमै छन्।