नयाँ बस्ती निर्माण गर्ने इजरेलको निर्णय

  • 31 मार्च 2017
इजरेल, प्यालेस्टाइन तस्वीर कपीराइट Reuters

इजरेलले अधिनस्थ वेस्ट ब्यांक क्षेत्रमा दुई दशक यता पहिलो पटक नयाँ बस्ती निर्माण गर्ने निर्णय गरेको छ।

प्यालेस्टिनी शहर नाब्लुस नजिकै त्यस्तो बस्ती निर्माण गर्ने निर्णय इजरेली मन्त्रिपरिषदको सुरक्षा समितिले बिहीबार लिएको हो।

प्यालेस्टिनी अधिकारीहरुले नयाँ बस्ती निर्माण योजनालाई भर्त्सना गरेका छन् र त्यसलाई रोक्न अन्तराष्ट्रिय तहबाट हस्तक्षेप गरिनुपर्ने माग गरेका छन्।

अघिल्लो महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बस्ती निर्माण स्थगन गर्न इजरेललाई भनेका थिए।

निर्णय

प्रधानमन्त्री नेतन्याहुले अमेरिकी सरकारसँग बस्ती निर्माण घटाउनेबारे सम्वाद गरिरहेको भनिएका बेला पछिल्लो घोषणा आएको हो।

इजरेली मन्त्रिपरिषदको सुरक्षा समितिको निर्णयलाई प्यालिस्टाइनले निन्दा गरेको छ।

तस्वीर कपीराइट AFP

बस्ती निर्माणको नयाँ निर्णयबारे ट्रम्प प्रशासनले प्रतिक्रिया दिन भने बाँकी छ।

अदालतले गैरकानूनी र निजी प्यालेस्टिनी भूमी भनेर ठहर गरेपछि एमओनाबाट हटाइएका यहुदी परिवारलाई बसाउन नयाँ बस्ती प्रयोग गरिने जनाइएको छ।

अघिल्लो महिना इजरेली अदालतको आदेशपछि प्रधानमन्त्री नेतन्याहुले उनीहरुका लागि नयाँ स्थानको बन्दोबस्त गर्ने बताएका थिए।

वैस्ट ब्यांक र पूर्वी जेरुसलेममा रहेका यहुदी बस्ती इजरेल र प्यालेस्टाइनबीचको विवादको एउटा मुख्य कारण रहँदै आएका छन्।

बस्ती

सन् १९६७ मा इजरेलले कब्जामा लिए यता त्यहाँ बनाइएका १ सय ४० बस्तीहरुमा ६ लाख भन्दा बढी यहुदीहरु बसिरहेका छन्।

अन्तर्राष्ट्रिय कानुन अनुसार ती बस्तीहरुलाई गैरकानुनी भनिए पनि इजरेलले त्यसलाई अस्वीकार गरिरहेको छ।

यसअघि ओबामा प्रशासनसँग तिव्र मतभेद रहेको बस्ती निर्माण पक्षधर इजरेली सरकार गएको जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि उत्साहित देखिएको छ।

त्यस यता उसले ६ हजार नयाँ घरहरु निर्माणका लागि स्वीकृति दिएको छ।