ब्रेक्जिटमा प्रगतिपछि भावी सम्बन्धवारे वार्ता'

  • 31 मार्च 2017
Image caption निर्देशिकामा ब्रिटेनसँगको व्यापारबारे चरणबद्ध वार्ता गर्नुपर्ने उल्लेख गरिएको छ

युरोपेली संघ (इयु) ले ब्रिटेन इयुबाट अलग्गिने विषयमा दुबै पक्षबीच पर्याप्त प्रगति नभएसम्म ब्रिटेनसँगको भावी सम्बन्धको विषयमा वार्ता नगर्ने बताएको छ।

ब्रिटेन इयुबाट बाहिरिने प्रक्रिया अर्थात 'ब्रेक्जिट' का विषयमा पर्याप्त प्रगति हासिल गरेपछि मात्रै इयु र ब्रिटेनबीचको भावी सम्बन्धका बारेमा वार्ता गर्न सकिने इयुले जनाएको छ।

ब्रिटेनले गत बुधबार इयुबाट अलग्गिने प्रक्रिया औपचारिक रुपमा अघि बढाएपछि इयुले नयाँ व्यापार सम्झौता गर्नुअघि प्रमुख मुद्दाबारे पर्याप्त सहमति खोज्नु पर्नेमा जोड दिएको हो।

कडाइ

युरोपेली परिषद्ले तयार पारेको निर्देशिकाको खाकामा ब्रिटेनसँग व्यापारबारे चरणबद्ध वार्ता गर्नुपर्ने उल्लेख गरिएको छ।

सो निर्देशिकालाई इयुका २७ सदस्य राष्ट्रले अनुमोदन गरेपछि मात्र दुई वर्षसम्म चल्ने वार्ताको प्रक्रिया प्रारम्भ हुनेछ।

युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कले आधारभूत सिद्धान्त अघि सार्दै दुबै भूभागका नागरिक अधिकारको रक्षा गर्ने, कानुनी अभाव पूरा गर्ने, ब्रिटेनले आफ्ना बक्यौता इयुलाई तिर्ने र आएरलण्डसँगको सीमामा ब्रिटेनले धेरै कडाइ गर्न नहुने प्रस्ताव गरेका छन्।

आशा

उनले आगामी छ महिनाभित्र इयुका बाँकी रहेका २७ सदस्य राष्ट्रले ब्रेक्जिटबारे पर्याप्त प्रगति भए नभएको विषयमा आवश्यक निर्णय गर्ने पनि आशा व्यक्त गरे।

त्यसपछि मात्र ब्रिटेनसँग ‍इयु कसरी अघि बढ्ने र कस्तो व्यापारिक सम्झौता गर्ने भन्ने विषय प्रष्ट हुनेमा युरोपेली परिषद्का अध्यक्षले जोड दिए।

उनले ब्रेक्जिटबारे थप वार्ताले इयु र ब्रिटेनबीचको सुरक्षा सहकार्य प्रभावित नहुने विश्वास पनि व्यक्त गरे।

भविष्यवाणी

माल्टामा पत्रकारसामु बोल्दै परिषदका अध्यक्ष टुस्कले भने, "ब्रिटेनमा कतिपयले चाहेजस्तै सबै मुद्दामा समानान्तर वार्ता भने सम्भव हुने छैन।"

उनले वार्ता निकै कठिन, जटिल र चर्काचर्की समेत हुनसक्ने भविष्यवाणी गरे।

इयुको अध्यक्षता गरिरहेको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ब्रेक्जिटबारे कडा वार्ता हुने तर त्यसको मतलव लडाईं चाहिँ नहुने बताएका छन्।

उनले ब्रिटेनले सुरक्षा सहयोगको विषयलाई ब्रिटेनले भावी व्यापार वार्ताको शर्तको रुपमा अघि नसार्ने आश्वासन आफूलाई ब्रिटेनले दिइसकेको पनि बताएका छन्।