‘लामो दाह्री र बुर्कामाथि प्रतिबन्ध’

  • 1 एप्रिल 2017
चीन तस्वीर कपीराइट Getty

आफूले इस्लामवादी उग्रवादी ठान्ने समूह विरुद्धको अभियानलाई बेइजिङले तीव्र बनाइरहँदा पश्चिम चीनको सिनजियाङ क्षेत्रमा नयाँ कानून कार्यान्वयनमा ल्याइएको छ।

उक्त कानूनले इस्लाम धर्म मान्ने उइगर जातिलाई असाधारण रुपमा ठूलो दाह्री पाल्न र सार्वजनिक स्थलमा अनुहार ढाक्ने गरी वस्त्र लगाउन प्रतिबन्ध लगाएको छ।

अब उप्रान्त उइगर समुदायका केटाकेटीहरुले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्नेछ।

आलोचकहरुले नयाँ कानूनले आफ्नो थातथलोको संस्कृति जोखिममा परेकोमा डराई रहेका उइगर समुदायलाई थप एकल्याउने खतरा रहेको टिप्पणी गरेका छन्।

कानून

सिनजियाङ आफूलाई विभेद हुने गरेको बताउने उइगर समुदायका मुसलमानहरुको मुख्य बासस्थान हो।

नयाँ व्यवस्थाहरुमा एकदमै लामो दाह्री पाल्न नदिने, सार्वजनिक स्थलमा मुख ढाक्ने गरी बुर्का सहितका कपडा लगाउन नमिल्ने र सरकारी टेलिभिजन हेर्न अस्वीकार गर्न नमिल्ने सहितका प्रावधान छन्।

त्यसबाहेक बालबालिकालाई सरकारी विद्यालयमा पढाउनबाट रोक्न नमिल्ने, परिवार नियोजनका नीतिहरु पालना गर्नुपर्ने, धार्मिक मान्यता अनुसार मात्रै विवाह गर्न नहुने जस्ता व्यवस्था राखिएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

यी प्रतिबन्धहरुलाई सिनजियाङका संसदहरुले अनुमोदन गरेको र सरकारी वेबसाइटमा प्रकाशन गरिएको बताइएको छ।

तस्वीर कपीराइट Reuters

पछिल्ला वर्षहरुमा सिनजियाङमा हिंसात्मक झडपहरु भएका छन्।

विभेद

चीन सरकारले त्यसका पछाडि इस्लामवादी उग्रवादी र पृथकतावादीहरुको हात रहेको आरोप लगाउँदै आएको छ।

तर अधिकारवादी समूहहरुले चाँहि विभेदकारी नीतिहरुका कारण त्यस्तो भएको र पछिल्लो कानूनले थप उइगरहरुलाई उग्रवादतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।

त्यस्तै प्रकृतिका प्रतिबन्धहरु सिनजियाङमा पहिलेदेखि नै लागू गरिएको भएपनि अहिले त्यसलाई कानूनी रुप दिइएको बताइएको छ।

यसअघि नै चिनियाँ अधिकारीहरुले उइगरलाई राहदानी दिन कडाइ गर्ने लगायतका प्रावधानहरु लागू गरिसकेका छन्।

टर्कीश मूलका उइगर मुसलमानहरुको संख्या सिनजियाङको कूल जनसंख्याको ४५ प्रतिशत रहेको बताइन्छ।