अर्थमन्त्रीद्वारा एकताका लागि आह्वान

  • 1 एप्रिल 2017
एकता तस्वीर कपीराइट AFP

दक्षिण अफ्रिकाका नवनियुक्त अर्थमन्त्री मालुसी गिगाबाले देशको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने समय भएको बताएका छन्।

गिगाबाको नियुक्तिले दक्षिण अफ्रिकामा मात्रै नभई अफ्रिकन नेशनल कंग्रेस पार्टीभित्र पनि विभाजन ल्याएपछि उनले देशको कठिन समयमा एकताका लागि आह्वान गरेका छन्।

शनिबार राजधानी प्रिटोरियामा बोल्दै गिगाबाले अफ्रिकाको सबभन्दा ठूलो अर्थतन्त्र हांक्न आफू सक्षम भएको बताए।

अर्थतन्त्रले धनी मानिस र विदेशी लगानीकर्ता मात्रै नभई सबैलाई फाइदा दिने समय आएको उनले बताए।

आलोचना

पूर्व अर्थमन्त्री प्रविण गोर्धनलाई अचानक बर्खास्त गरिएकोमा धेरैले आलोचना गरेका छन्।

उनलाई बिहीबार राति पदच्युत गरिएपछि देशको मुद्रा र्याण्डको भाउ ५ प्रतिशतले घटेको थियो।

बढ्दो तनावलाई कम गर्ने प्रयासमा रुपमा गिगाबाले बिहीबार अचानक बर्खास्त गरिएका पूर्व अर्थमन्त्रीलाई धन्यवाद दिए।

उपराष्ट्रपति सिरिल रामापोशाले राष्ट्रपतिले त्यो बर्खासीको विषयमा पार्टीसँग सल्लाह नगरेको भन्दै सो कदमलाई अस्वीकार्य भनेका छन्।

उनको त्यो भनाइले अफ्रिकन नेशनल कंग्रेसका धेरै वरिष्ठ पदाधिकारीको धारणालाई प्रतिनिधित्व गरेको छ।

बढ्दो आलोचना खेपिरहेको प्रशासनमा गोर्धनलाई भ्रष्टाचारविरुद्धका पात्रका रुपमा हेरिएको थियो।

हेरफेर

उनी खर्चमा नियन्त्रण राख्न प्रयासरत थिए र सरकारी खर्च बढाउने राष्ट्रपतिको आग्रहलाई अस्वीकार गरिरहेका थिए।

राष्ट्रपति जुमाले मन्त्रिमण्डलमा व्यापक हेरफेर गर्ने क्रममा उनलाई हटाएका थिए।

तर त्यस्तो फेरबदलको विरोधमा आफूले राजीनामा नदिने र जनताको सेवा जारी राख्ने रामापोशाले बताएका छन्।

गोर्धनलाई किन पदच्युत गरिएको हो त्यो स्पष्ट छैन तर स्थानीय सञ्चारमाध्यमले एउटा प्रतिवेदनलाई उल्लेख गरेका छन् जसमा गोधर्नमाथि जुमाको प्रशासनलाई कमजोर बनाउन विदेशीहरुसँग मिलेर काम गरेको आरोप लगाइएको छ।

प्रिटोरियास्थित आफ्नो कार्यालयबाट बिदाइ सन्देश दिंदै गोर्धनले आफ्नो आर्थिक कार्यहरुको बचाउ गरेका छन् र राष्ट्रपतिलाई कमजोर बनाउने उद्देश्यले लण्डनमा मानिसहरुसँग भेटघाट गरेको भन्ने अड्कलबाजीलाई अस्वीकार गरेका छन्।

तर अन्त्यमा मानिसहरुले यो घटनालाई राजनीतिक मुद्दाका रुपमा हेरिरहेका छन् र राष्ट्रपतिले आफूप्रति वफादार मानिसलाई पुरस्कृत गरेको ठानेका छन्।