संसद्को शक्ति खोस्ने निर्णय खारेज

  • 1 एप्रिल 2017
विरोध तस्वीर कपीराइट Reuters

भेनेजुएलाको सर्वोच्च अदालतको विपक्षी नेतृत्वको संसद्को शक्ति खोस्ने निर्णयप्रति राष्ट्रपति निकोलास मादुरोले अचानक हस्तक्षेप गरेपछि अदालतले आफ्नो निर्णय उल्ट्याएको छ।

मादुरो र उपराष्ट्रपति तारेक अल ऐसामीले बिहान सबेरै सरकारी टेलिभिजनमा अदालतलाई उसको फैसलामाथि पुनर्विचार गर्न आह्वान गरेका थिए।

संस्थाको स्थिरता र शक्तिको सन्तुलन कायम राख्नका लागि आफ्नो निर्णय उल्ट्याउन उनीहरुले आग्रह गरेका थिए।

शुक्रबार महान्यायाधिवक्ता लुइसा ओर्टेगाले भेनेजुएलाको संविधानको हातमा लिएर अदालतको निर्णयलाई निन्दा गर्दै टेलिभिजनमा प्रस्तुत भएका थिए।

विरोध

सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा त्यो निर्णय उल्ट्याएको जनाएको थियो।

अदालतले बुधबार गरेको संसद्को शक्ति खोस्ने निर्णयलाई विपक्षी दलले "कू" भनेर भर्त्सना गरेको थियो।

सो निर्णयमा सर्वोच्च अदालतले न्यायाधीशहरुलाई कानून बनाउने अधिकार दिएको थियो।

सन् २०१५ मा भएको चुनावमा विपक्षी दलका तीनजना सांसदले अनियमितता गरेको आरोप लागेपछि अदालतले सांसदहरुले अदालतको अपमान गरेको आरोप लगाएको थियो।

त्यो कदमको अन्तर्राष्ट्रिय रुपमा व्यापक आलोचना भएको थियो।

भेनेजुएलाका जनता सो निर्णयको विरोधमा शनिबार पनि सडकमा निस्केका छन्।