कोलम्बियामा पहिरोपछि हराइरहेकाको खोजी

  • 2 एप्रिल 2017
तस्वीर कपीराइट EPA
Image caption कैयौं बालबालिकाहरुको उद्धार गरिएको छ

कोलम्बियाका आपत्कालिन टोलीहरुले मोकोआ शहरमा गएको पहिरोपछि हराइरहेका एक सयभन्दा बढी मानिसको खोजी कार्यमा आफूहरु केन्द्रित भएको बताएका छन्।

भग्नावशेषमा पुरिएका मानिसहरुको खोजी एवम् उद्धार कार्यमा झण्डै ११ सय सेना र हवाइ फौज सहभागी छन्।

कोलम्बियाली रेडक्रसले २३० जनाभन्दा बढी मानिसको ज्यान गएको पुष्टि भएको जनाएको छ।

मोकोआ शहरका अधिकांश भागमा बिजुली आपूर्ति बन्द भएको छ भने धेरै भागमा खानेकुराको अभाव देखिएको छ।

प्रयासरत

पहिरोका कारण अवरुद्ध भएका वा बगेका सडकमा सवारीसाधन चलाउनका निम्ति ठूलो यन्त्र पुर्याउन अधिकारीहरु प्रयासरत छन्।

अधिकारीहरुका अनुसार मुसलधारे वर्षापछि सो शहरमा पहिरो गएको थियो।

पहिरोपछि सो क्षेत्रका वासिन्दा अन्यत्र जान वाध्य भएका छन्।

सेनाको एउटा वक्तव्यका अनुसार पुटुमायो प्रान्तको राजधानी शहर मोकोआमा कम्तीमा ४०० जना घाइते र २०० जना अझै हराइरहेका छन्।

रेडक्रसले पहिरो प्रभावित परिवारका सदस्यहरुबीच सम्पर्क गराउने काम गरिरहेको र त्यो रातीसम्म जारी रहेको जनाएको छ।

परिवार कल्याण केन्द्रमा केटाकेटीको सूची हेरेर हराइरहेका मानिसका आफन्त रुँदै गरेको भिडियो फुटेजमा देखिन्छ।

एकजना स्थानीय वासिन्दाले पत्रकारहरुलाई भने, "हाम्रो सानो बच्चा हराइरहेको छ जसलाई भेटिरहेका छैनौँ र बाँकीलाई तपाईंले हेर्न सक्नुहुन्छ।"

आपतकाल

राष्ट्रपति ख्वाँ म्यानवेल सान्तोसले पुटुमायो प्रान्तमा आपतकाल घोषणा गरेका छन्।

उनी आफै उद्धार कार्यको निरीक्षण गर्न पुगेका थिए।

कोलम्बियाको एउटा स्थानीय समाचारपत्रका अनुसार नदीमा पानीको तह बढेपछि खतराको चेतावनी दिँदै साइरन बजेको थियो, जसका कारण मानिसहरु आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ गए र थप क्षति रोकियो।

उद्धारकर्ताहरुले १७ वटा वस्ती डुबानमा परेको जनाएका छन् र कैयौँ घरको छाना समेत माटोले पुरिएको छ।

इक्वेडर र पेरुको सीमामा रहेको सो क्षेत्र कृषि तथा पेट्रोलियम उद्योगहरुमा निर्भर छ।

सन् २०११ यता यसपटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीहरुले बताएका छन्।