'रुसमा भएको विष्फोटमा एघार जनाको मृत्यु'

  • 4 एप्रिल 2017
तस्वीर कपीराइट EVN
Image caption रुसी भूमिगत रेल सेवामा विष्फोट

रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा भएको विस्फोटमा एघार जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

रुसको राष्ट्रिय आतंकवाद विरोधी कमिट‌िले सेनाया प्लोस्चाद र इन्स्टिच्युट अफ टेक्नोलोजी स्टेशनको बीचमा एउटा रेलमा सो विष्फोट भएको जनाएको छ।

कमिटिले नजीकैको अर्को रेलवे स्टेशनमा पनि एउटा विष्फोटक पदार्थ भेटिएको तर त्यसलाई निष्कृय तुल्याइएको जनाएको छ।

सामाजिक सन्जालमा प्रकाशित तस्वीरहरुमा सेनाया स्टेशनमा रेलको ढोका भत्किएको र नजीकै घाइतेहरु रहेको देखाइएका छन्।

सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको शोकको घोषणा गरिएको छ।

जाँचबुझ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकवाद लगायत संभाव्य सबै कारणहरुको जाँचबुझ गरिने जनाएका छन्।

राष्ट्रपति पुटिन सोमबार बिहान सोही शहरमा रहेका तर पछि उनी त्यहाँबाट फर्केका जनाइएको छ।

समाचारहरुमा केटाकेटी सहित चालीस जना घाइते भएको जनाइएको छ।

विष्फोटक पदार्थ

तस्वीर कपीराइट Reuters

इन्टरफ्याक्स समाचार संस्थाले एउटा विष्फोटक पदार्थ भित्र फलामे सुइरोजस्ता वस्तुहरु राखिएको हुनसक्ने जनाएको छ।

सेन्ट पिटर्सवर्ग संसारकै व्यस्त भूमिगत रेल सेवाहरु मध्ये एक हो।

दैनिक बीस लाख भन्दा बढी मानिसहरुले सो रेलसेवा प्रयोग गर्दछन्।

सन् २००९ मा मस्कोबाट सेन्ट पिटर्सवर्ग जाने एउटा तीव्र गतिको रेलमा भएको बम विष्फोटमा २७ जनाको ज्यान गएको थियो भने १३० जना अन्य घाइते भएका थिए।

एउटा इस्लामवादी समूहले सो हमलाको जिम्मा लिएको थियो।