सिरियामा रासायनिक आक्रमणको आशंका

  • 4 एप्रिल 2017
घाईते तस्वीर कपीराइट Reuters

उत्तर पश्चिमी सिरियास्थित विद्रोही नियन्त्रित इदलिब नगरमाथि रासायनिक हमला भएको आशंका गरिएको छ।

सो आक्रमणमा परेर कम्तीमा ५८ जना मारिएका छन् र दर्जनौं अन्य घाइते भएका छन्।

मृतकको संख्या अझ बढी भएको केहीको अनुमान छ।

सिरियाली सरकारका वा रुसी विमानले खान शेइकुनमाथि आक्रमण गर्दा धेरैजना निसास्सिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बताएको छ।

त्यसपछि विमानहरुले पीडितहरुको उपचार भइरहेका केही स्थानीय स्वास्थ्यकेन्द्रमाथि पनि आक्रमण गरेको स्वास्थ्यकर्मी र विपक्षी अभियानकर्ताहरुले बताएकाछन्।

खतरनाक

सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको बारम्बार अस्वीकार गरेको छ।

त्यस्तै, रुसको रक्षा मन्त्रालयले त्यो क्षेत्रमा कुनै हवाई आक्रमण नगरेको बताएको छ।

यदि पुष्टि भएमा त्यो आक्रमण ६ वर्ष अघ सिरियाको गृहयुद्ध शुरु भएयताको सबैभन्दा खतरनाक रासायनिक आक्रमण हुनेछ।

यदि पुष्टि भएमा त्यो आक्रमण ६ वर्ष अघि सिरियाको गृहयुद्ध शुरु भएयताको सबैभन्दा खतरनाक रासायनिक आक्रमण हुनेछ।

शक्तिशाली रसायन

स्वास्थ्यकर्मीले बेहोश भएका, उल्टी गरेका र मुखबाट फिंज निस्केका मानिसलाई उपचार गरेको बताएको सिरियन अब्जर्भेटरीको भनाई छ।

त्यहाँ कुन पदार्थ प्रयोग गरिएको हो त्यो थाहा नभएको सिरियन अब्जर्भेटरीले बताएको छ।

तर अन्य निकायले त्यहाँ सारिन नामक स्नायु विष प्रयोग गरिएको आशंका गरेका छन्, जुन साइनाईड भन्दा २० गुणा खतरनाक मानिन्छ।

त्यसको मात्रा उच्च भएमा केहीबेरमै निसासिएर मृत्यु हुन सक्छ।

सारिनको रंग, स्वाद र गन्ध नहुने हुनाले त्यो पत्ता लगाउन झण्डै असम्भव छ।

सरकारमाथि आरोप

पश्चिमा शक्तिहरुले सन् २०१३ मा सिरियामाथि विद्रोही नियन्त्रित क्षेत्रमा सारिन प्रयोग गरेर सयौंको ज्यान लिएको आरोप लगाएका थिए।

राष्ट्रपति बशर अल-असदले सो आरोप अस्वीकार गरेका थिए तर सिरियाको रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमत भएका थिए।

तर त्यसपछी पनि रासायनिक हतियारको प्रतिबन्ध लगाउने पक्षको निकायले सिरियामा भएका आक्रमणमा रासायनिक हतियारको प्रयोग भएको अभिलेख गरिरहेको छ।

गत अक्टोबर महिनामा राष्ट्रसंघसंग गरिएको संयुक्त अनुसन्धानमा सरकारी फौजले सन् २०१४ देखि २०१५ को बीचमा कम्तिमा ३ पटक क्लोरिनलाई हतियारका रुपमा प्रयोग गरेको निष्कर्श निकालेको थियो।

अनुसन्धान

इस्लामिक स्टेटका लडाकुले पनि पोल्ने रसायन प्रयोग गर्ने गरेको सो अनुसन्धानले बताएको छ।

विपक्षी दल न्याशनल कोआलिशनले सरकारलाई उसकै शब्दमा भयानक अपराध गरेको आरोप लगाएको छ।

उसले राष्ट्रसंघको सुरक्षा परिषदलाई घटनामाथि अनुसन्धान शुरु गर्न र दोषीलाई सजाय दिन आह्वान गरेको छ।

विपक्षीलाई समर्थन गर्ने फ्रान्सले गम्भीर रासायनिक हमला भएको स्वीकार गर्दै सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ।