देशभर युरो-चार तेल 'वितरण शुरु'

  • 4 एप्रिल 2017
आयल निगमले युरो-चार मापदण्डको इन्धन मंगलबारबाट देशैभर वितरण गर्न थालिएको जनाएको छ।
Image caption आयल निगमको इन्धन भण्डार

इन्जिनमा जल्न सहज हुने र वायु प्रदूषण पनि कम गर्ने भनिएको युरो-चार मापदण्डको पेट्रोलियम पदार्थ मंगलबारदेखि देशभरि वितरण गर्न थालिएको नेपाल आयल निगलले जनाएको छ।

शनिबारदेखि भित्रिएको सबै तेल युरो-चार मापदण्डको इन्धनको रहेको र त्यस्को बिक्री वितरण देशै भर शुरु हुने क्रम चलिसकेको निगमको भनाइ छ।

पश्चिम नेपालका भैरहवा नेपालगञ्ज र धनगढीमा चाहिँ युरो चार मापदण्डको तेलको बिक्री वितरण मंगलबारदेखि थालिएको बताइएको छ।

नेपालमा यसअघि युरो तीन मापदण्डको पेट्रोलियम पदार्थ प्रयोगमा रहेकोमा आइतबारदेखि त्यसलाई युरो चार मापदण्डको पेट्रोल र डिजेलले विस्थापन गर्ने क्रम शुरु भइसकेको निगमको भनाइ छ।

कार्यक्षमता बढाउने

निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार युरो चार मापदण्डको तेल प्रयोग गर्नाले सवारीसाधनको इन्जिनको कार्य क्षमता बढाउनुका साथै सवारी साधनबाट निसक्ने कार्बनडाइअक्साइड, सल्फरडाइअस्काइड र पार्टीकुलेट म्याटर जस्ता प्रदूषणको मात्रा ह्वात्तै कम हुन जान्छ।

उनले भने, "युरो तीनमा सल्फरको मात्रा १सय ५० पिपियम हुन्थ्यो भने युरो चारमा ५० पिपिएममात्र हुन्छ, यसले गर्दा गाडीको कार्यक्षमता बढ्नुका साथै इन्जिनको आयु पनि बढ्ने र वातावरण न्यूनीकरण गर्ने काम यसले गर्छ।"

नेपालको एक मात्र तेल वितरक भारतीय आयल निगमले शनिबारदेखि औपचारिक रुपमा युरो तेल वितरण गर्न थालेपछि नेपालमा स्वत: यसको वितरण हुन थालेको हो।

जस अन्तर्गत विराटनगर, झापा, पोखरा, काठमाण्डौ र जनकपुरमा यसको वितरण सुरु भइसकेको छ।

तेल वितरण

बाँकी ठाउँमा मंगलबार देखि नयाँ गुणस्तरको तेल वितरण गरिएको नेपाल आयल निगमका प्रवक्ता पोखरेलले बताए। उनले भने, "भैरवाह, नेपालगञ्ज र धनगढिमा मंगलबार देखि युरो चार तेल बिक्रि वितरण भएको छ।"

रसायनिक बनावटमा केही परिवर्तन भएपनि युरो चार आयात गर्न वा भण्डारण गर्न केही परिवर्तन गर्न नपरेको नेपाल आयल निगमले बताएको छ।

निगमका अनुसार नयाँ इन्धन सिधै सवारी साधनमा प्रयोग गर्न सकिन्छ।

युरो ३ भन्दा गुणस्तरीय भएकोले यसको मूल्य पनि प्रती लिटरमा ४१ पैसा बढी पर्ने भए पनि नेपाल आयल निगमले तुरुन्तै मूल्य वृद्धि गर्ने सोच नबनाएको प्रवक्ता पोखरेलले बताए।

इन्डियन आयल निगमले प्रशोधन गर्ने भएकोले युरो चार तेललाई बीएस फोर पनि भनिने गरिएको छ।

निगमका अनुसार नेपालले भारतबाट वार्षिक रुपमा झण्डै १ खर्ब रुपैयाँभन्दा बढीको तेल आयता गर्छ र औसतमा प्रति महिना १ लाख १० हजार किलोलिटर डिजेल र ३२ हजार किलोलिटर पेट्रोल आयात गर्दै आएको छ।