‘रासायनिक’ हमला: ‘असद सरकार दोषी’

  • 5 एप्रिल 2017
सिरिया तस्वीर कपीराइट Reuters

अमेरिकाले सिरियाको विद्रोही नियन्त्रित एउटा शहरमा भएको संदिग्ध रासायनिक आक्रमणमा सिरियाली सरकारको हात रहेको आरोप लगाएको छ।

तर सिरियाली सेनाले कुनै पनि खालको रासायनिक हतियार प्रयोग नभएको भन्दै आरोपहरुको खण्डन गरेको छ।

यदि पुष्टि भए पछिल्लो आक्रमण सिरियाली गृहयुद्धकै सबैभन्दा भीषण रासायनिक हमला हुनेछ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उक्त आक्रमणमा बसर अल असदकै सरकार संलग्न रहेकोमा आफू विश्वस्त रहेको जनाएको छ।

अप्ठ्यारा

अधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले खान शेखुन भन्ने स्थानमा सिरियाली सरकार तथा रुसका जेटहरुबाट भएका आक्रमणले कयौं मानिसलाई सास फेर्न अप्ठ्यारो भएको जनाएको थियो।

एउटा टर्किश अस्पतालमा ल्याइएका घाइते अहमदले भने, "मेरो परिवार र म आक्रमणका बेला सुतिरहेका थियौं। आक्रमण करिब बिहान ६ देखि ७ बजेको बीच भएको थियो। बम खसालिएको थियो र ठूलो विस्फोटन भएको थियो"।

"त्यसपछि मलाई चक्कर लाग्नुका साथै बान्ता होला जस्तो भयो। सास फेर्न गाह्रो हुन थाल्यो। त्यसपछि मलाई अरु कुरा याद छैन"।

पछि, बाँचेकाहरुको उपचार गराइरहेका स्थानीय क्लिनिकहरुमाथि लडाकु विमानबाट रकेट आक्रमण गरिएको सहायताकर्मी तथा अभियानकर्मीहरुले जनाएका छन्।

तस्वीर कपीराइट Reuters

खण्डन

सिरियाली सेनाले भने कुनै पनि खालको रासायनिक हतियार प्रयोग नगरेको बताएको छ।

पछिल्लो आक्रमणको आलोचना गर्ने सूचीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पपछि विदेशमन्त्री रेक्स टिलरसन पनि थपिएका छन्।

टिलरसनले उक्त घटनालाई क्रूर र लज्जाजनक बर्बरता भन्दै त्यसले बसर अल असदले कसरी काम गरिरहेका छन् भन्ने प्रष्ट पारेको टिप्पणी गरे।

ब्रिटेन, संयुक्त राष्ट्रसंघ र फ्रान्सले पनि हमलाको निन्दा गरेका छन्।