बदर मतसंख्या ‘घटाउन’ आयोगको पहल

  • 5 एप्रिल 2017
निर्वाचन आयोग

आउँदो स्थानीय निर्वाचनमा बदर हुन सक्ने मतको संख्या पहिलाभन्दा घटाउन भन्दै निर्वाचन आयोगले मतदाताको घरमै पुगेर मतदाता शिक्षा दिने गृहकार्य भइरहेको जनाएको छ।

अधिकारीहरुका अनुसार मतदाता शिक्षाका लागि १६ वटा भाषामा पोस्टर, पम्पलेट तयार पारिएको र २१ हजार स्वयमसेवक परिचालन गरिँदैछ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कुल खसेको मतको पाँच प्रतिशत अर्थात करिब ७ लाख मत बदर भएका थिए।

प्रयास

बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोग बदर हुनसक्ने मतको संख्या घटाउने प्रयासमा अघि बढेको बताइएको छ।

खस्ने सबै मत सदर होस् भनेर आयोगले थप प्रभावकारी ढङ्गले मतदाता शिक्षा तालिम शुरु गर्न लागेको अधिकारीहरुले बताएका छन्।

आयोगका सचिव गोपीनाथ मैनालीले भने, "गत वर्षको भन्दा उल्लेखनीय रुपमा बदर मतसंख्या घटाउने योजना हो। विभिन्न पोस्टर, पम्लेट र विषयवस्तुको माध्यमबाट २१ हजार स्वयमसेवकमार्फत कुनै, कुनै रुपमा मतदाताको घरसम्म पुग्छौं"।

उपाय

आयोगले मतदाता शिक्षासँगै नमूना मतदान गराउने र मतपत्रमा ठीक तरिकाले मत दिन सिकाउने कार्यक्रम रहेको बताएको छ।

मतदाता शिक्षाका लागि आवश्यक सामाग्री १६ वटा भाषामा तयार पारिएको सचिव मैनालीले बताए।

झण्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा एउटै मतदाताले ७ जनालाई आफ्नो मत दिने व्यवस्था भएकाले धेरै मत बदर हुने सम्भावना कतिपयको अनुमान छ।

त्यसलाई न्यून गर्न निर्वाचन आयोगका अतिरिक्त राजनीतिक दलले पनि मतदातालाई सुसूचित गर्न अभियान सञ्चालन गर्नुपर्ने आयोगका पदाधिकारीहरुको भनाइ छ।