'रासायनिक ग्यास विद्रोहीको अस्त्रबाट'

  • 5 एप्रिल 2017
सिरिया तस्वीर कपीराइट Reuters

रुसले सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा कयौं गैरसैनिकको ज्यान लिएको रासायनिक ग्यास त्यहाँस्थित विद्रोहीहरुकै अस्त्रबाट आएको बताएको छ।

रुसको रक्षा मन्त्रालयले इडलिब प्रान्तको खान शेखुनमा सिरियाली लडाकु विमानले आक्रमण गरेको स्वीकार भने गरेको छ।

तर विमानले हमला गर्दा विषाक्त तत्वले भरिएको विस्फोटक पदार्थ उत्पादन गर्ने डिपोमा लागेको उसले बताएको छ।

आरोप प्रत्यारोप

अमेरिका र अन्य मुलुकहरुले सिरियाली विमानहरुले रासायनिक हतियार खसालेको बताएका छन् तर दमास्कसले अस्वीकार गरेको छ।

ब्रिटिश विदेशमन्त्री बोरिस जोन्सनले रुसी वक्तव्यबारे प्रतिक्रिया दिदैं भने, "मैले हेरेका सबै प्रमाणहरुले असद सरकारले नै आफ्नै जनतामाथि अवैध अस्त्र प्रयोग गरेको देखिन्छ"।

अधिकारवादी संस्था सिरियन अब्जर्बेटरी फर ह्युमन राइटसले खान शेखुनमा मारिने मानिसहरुको संख्या ७२ पुगेको जनाएको छ।

तीमध्ये २० जना बालबालिका भएको उसले बताएको छ।