औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउने तयारी

  • 5 एप्रिल 2017
तामाकोशी नदि
Image caption माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि बिजुलीको प्रवाह निकै बढ्ने प्राधिकरणको भनाइ छ।

आउँदो आर्थिक वर्षको शुरुवातसँगै अर्थात आउने साउनबाट औद्योगिक क्षेत्रमा हाल गरिदैँ आएको लोडसेडिङ अन्त्य गर्ने योजना बनाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आउने दुई-तीन वर्षभित्र सालमा ६ महिना जति बिजुली निर्यात गर्न सक्ने गरी उर्जा उत्पादन बढाउने महत्वाकांक्षी योजना पनि अघि सारेको छ।

यसका लागि विद्युत चुहावट नियन्त्रण गर्दै ट्रान्सफर्मर विस्तारमा विशेष ध्यान दिइने र चमेलिया र कुलेखानी जस्ता योजना छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ।

केही महिनाअघि देखि देशका शहरी क्षेत्रमा लोडसेडिङ अन्त्य गर्न सफल भएपछि प्राधिकरण अब औद्योगिक क्षेत्र तर्फ केन्द्रित भएको देखिन्छ।

लोडसेडिङ मुक्त

आउँदो केही महिनामा देशभित्रैका विद्युत आयोजना चमेलिया र कुलेखानीबाट विजुली उत्पादन हुन थालेपछि औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ अन्त्य हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

उनले भने, "बैशाख-जेठपछि विस्तारै हामी उद्योगको बेलुकाको चार घन्टाको लोडसेडिङ पनि हटाउन लागि रहेका छौं।"

भारतसँगको सीमा क्षेत्रमा रक्सौल-परवानीपुर र कटैया-कुशाहा प्रसारण लाइन तयार भइसकेको र यो दुई स्थानबाट निकट भविष्यमै १ सय मेगावाट हाराहारीको बिजुली ल्याउन सकिने निर्देशक घिसिङले बताए।

उनका अनुसार भारतबाटै बिजुली प्रवाह गरिने मुजफ्फरपुर लाइन अन्तर्गत ढल्केबर सब स्टेसन पनि केही महिनामा निर्माण भइसक्ने र त्यसपछि २२० केभीएमा विद्युत प्रसारण हुनसक्ने छ।

स्वागत

प्राधिकरणको पछिल्लो योजनालाई उद्योग व्यवसायीहरुले सकारात्मक रुपमा लिएका छन्।

२४ सै घन्टा विद्युत आपूर्ति भए उत्पादनमा सकारात्मक प्रभाव पर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए।

उनले भने, "जब विद्युत जस्तो आधारभूत तत्व उपलब्ध हुन्छ, त्यसपछि उद्योगहरुले आफ्नो उत्पादनलाई राम्रोसंग प्रतिस्पर्धा गर्नको लागि प्रतिस्पर्धात्मक भावना बढ्छ र उद्योग धन्दामा लगानी वृद्धि हुने वातावरण बढ्छ।"

चमेलिया र कुलेखानीका अतिरिक्त निकट भविष्यमै साना जलविद्युत आयोजनाबाट करिब २०० मेगावाट विद्युत उत्पादन भएपछि लोडसेडिङ मुक्त गर्न सकिने अवस्थामा पुगिने घिसिङको विश्वास छ।

उनका अनुसार भविष्यमा ४५६ मेगावाटको तामाकोशी आयोजनापनि पूर्ण रुपमा सञ्चालनमा आएपछि प्राधिकरण विद्युत निर्यात गर्न सक्ने अवस्थामा पुग्नेछ।

सम्भावना

प्राधिकरणका प्रमुख घिसिङले भने, "दुई वर्षदेखि तीन वर्ष भित्रमा करिब १२ सय मेगावाटको विद्युत थप उत्पादन हुन्छ। तामाकोशी संचालनमा आएपछि हामीले ६ महिना निर्यात गर्नुपर्ने स्थिति आउँछ।"

विद्युत आपूर्ति बढेसंगै ४ सय मेगावाट क्षमताका ट्रान्सफर्मरलाई हजार मेगावाट सम्मको विस्तार गर्ने काम शुरु गर्ने प्राधिकरणको योजना रहेको छ।

बिजुलीको माग र आपूर्तिको राम्रो व्यवस्थापन गरेर नै अहिलेको लोडसेडिङ मुक्त अवस्थासम्म आइपुगेको प्राधिकरणको भनाइ छ।

पछिल्लो ६ महिनामा करिब १ अर्ब रुपैयाँ बराबरको विद्युत बचाउन सकेको पनि प्राधिकरणले बताएको छ।