विमानस्थल निर्माणको विवाद टुंगियो

  • 5 एप्रिल 2017
निर्माणाधिन गौतमवुद्ध विमानस्थल
Image caption निर्माणाधिन गौतमवुद्ध विमानस्थल

निर्माण कम्पनीबीचको आन्तरिक विवादका कारण दुई हप्तादेखि रोकिएको भैरहवामा निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य पुनःशुरु भएको छ।

विमानस्थल निर्माणको ठेक्का पाएको चिनिँया कम्पनीले आफ्नै मातहतमा काम अगाडी वढाउने सहमति गरेपछि विवाद टुंगिएको अधिकारीहरुले बताएका छन्।

यसअघि निर्माणको ठेक्का पाएको चिनिँया कम्पनी नर्थवेष्ट सिभिल एभिएसन र उसले ठेक्का दिएको नेपाली पेटी ठेकेदार कम्पनी नर्थवेष्ट नेपाल विच रकम भुक्तानीमा विवाद देखिएपछि यसै महिनाको शुरुदेखि काम रोकिएको थियो।

सहमति

तर अहिलेसम्मको सबै लागत बुझबुझारथ गरेर पेटी ठेकेदार नेपाली कम्पनी त्यहाँबाट बाहिरिने सहमति भएपछि विवाद टुंगिएको हो।

सरकारी अधिकारीहरुको मातहतमा उक्त विवाद सुल्झिएको बताइएको छ। अहिले बुझबुझारथको प्रकृया चलिरहेको विमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माले बताए।

उनले भने, " नेपाल र चिनिँया दुबै ठेकेदार कम्पनी बिच छलफल भएर हिसाब प्रस्तुत हुने काम भयो। त्यो प्रस्तुत भएका विलहरुको दुवै पक्ष संगै बसेर समिक्षा गरिरहेका छन्। अब कुनै विवाद नहुने भएपछि चिनिँयाहरुले आवश्यक सामान र कामदारहरु ल्याउने काम थालिसकेका छन्।"

विवादका कारण करिव दुई हप्ता काम रोकिएपनि बाँकी काम भने पुर्व निर्धारित समयमै सम्पन्न हुने आयोजना प्रमुख शर्माको विश्वास छ।

उनले थपे, "अबको स्थिति सहज छ। किनकी विवाद छैन। काम रोकिंदैन। कामको लोड राम्रो भएकोले उनीहरुले विल पनि राम्रो प्राप्त गर्छ। काम गर्दा समयमै सम्पन्न हुनेमा म विश्वस्त छु। केही समय कामको गती हेरौं। त्यसपछिको प्रगती हेरेर फेरी पुनर्विचार गर्नुपरे गरौंला। तर हाललाई चिनिँयाहरुले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो र त्यसका लागि हामीले ताकेता गरिरहेका छौं।"

तीन वर्ष भित्रै काम सक्ने गरी ठेकेदार कम्पनीसंग संझौता भएकोमा तराई मधेस आन्दोलन लगायतका कारण देखाउँदै संझौता अवधि थप ६ महिना विस्तार गरिएको थियो।

काम शुरु भएको झन्डै दुई वर्ष पुग्न लाग्दा विमानस्थल विस्तारको करीव २६ प्रतिशत मात्र काम सकिएको बताइएको छ।

एसियाली बिकास ब्याङकको ऋण सहयोगमा विमानस्थल विस्तारको लागि चिनिँया कम्पनीसंग प्रथम चरणमा करिव ६ अर्ब साढे २२ करोड रुपैंयामा संझौता गरिएको थियो।

लक्ष्य अनुसार काम अगाडी बढेमा अबको करिव १४ महिनापछि काठमान्डू पछिको दोस्रो अन्तर्राष्ट्रिय स्तरको विमानस्थल मूलुकले पाउनेछ।