दोस्रो वरीयताको विकल्प छैन: निधि

  • 5 एप्रिल 2017
प्रधानमन्त्री प्रचण्ड र शेर बहादुर देउवा तस्वीर कपीराइट CMPRACHANDA.COM
Image caption सत्ता साझेदारदलहरुबीच वरीयताक्रमबारे सरकार गठनका बेला नै सहमति भएको निधिले बताउँने गरेका छन्।

उपप्रधानमन्त्रीको रुपमा राष्ट्रिय प्रजातन्त्र

पार्टीका अध्यक्ष कमल थापा सरकारमा सामेल भएपछि वढेको वरीयता विवादमा आफूलाई दोस्रो मर्यादा भन्दा मुनी राखे त्यसलाई अस्वीकार गर्ने उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले बताएको उनका सल्लाहकारले जनाएका छन्।

प्रधानमन्त्री प्रचण्डले वरीयता विवाद टुंङग्याएर बिहिवार मन्त्रिपरिषद्को बैठकमा राख्ने तयारी गरिरहेको भनिएका बेला गृहमन्त्री निधिका सल्लाहकारको पछिल्लो भनाइ आएको हो।

सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले चाहिँ प्रधानमन्त्री प्रचण्डले सबै पक्षसँग छलफल गरिसकेको र वरिष्ठता विवाद टुंङग्याउन एउटा निष्कर्षमा पुगिसकेको बीबीसीलाई बताए।

उपप्रधानमन्त्रीहरुबीच वरिष्ठता विवादका कारण मन्त्रिपरिषद्को बैठक राख्न नसकी चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट फर्किँदा स्वागत गर्न गएका तीन जना उपप्रधानमन्त्रीहरुको वरीयता विवाद विमानस्थलमै छताछुल्ल भएको थियो।

अस्वीकार्य

२१ दिनपछि बिहिवारका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठकको पूर्वसन्ध्यामा उक्त विवाद प्रधानमन्त्रीका लागि पेचिलो देखिएको छ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले अर्का उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापालाई आफूभन्दा माथि स्वीकार्ने पक्षमा निधि नरहेको बताए।

उनले भने," कुनैपनि हालतमा कमल थापालाई दोस्रो वरीयता दिन स्वीकार्ने पक्षमा उहाँ हुनुहुन्न। यो विषयमा उहाँले पार्टी सभापतिसंग पनि कुरा गरिसक्नु भएको छ र प्रधानमन्त्रीसंग पनि पटक पटक कुरा गरिसक्नु भएको छ।"

कमल थापा उपप्रधानमन्त्री हुनुअघि दोस्रो वरीयतामा रहेका निधि प्रधानमन्त्री प्रचण्डले दुई पटक भारतको भ्रमण गर्दा कार्यवाहक प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए।

तर मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीका रुपमा थापा सहभागि भएपछि कसैलाई कार्यवाहकको जिम्मेवारी नतोकी प्रचण्डले चीनको भ्रमण गरेका थिए।

पूर्व सहमति

मन्त्रिमण्डलको वरीयताको विषय सरकार गठन गर्ने बेलामा नेपाली काँग्रेस र माओवादी केन्द्र बीच भएको सहमतिमै निर्धारण भएकाले त्यसलाई कार्यान्वयन गरिनुपर्ने पक्षमा निधि रहेको उनका सल्लाहकार दाहाल बताउँछन्।

उनले थपे,"पहिलो चरणमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो मर्यादाक्रम काँग्रेसलाई दिने र दोस्रो चरणमा नेपाली काँग्रेसको नेतृत्वमा हुने र त्यसमा दोस्रो मर्यादाक्रम माओवादीलाई दिने सहमति सरकार गठनका बेला भएको हो। र त्यही सहमति अनुसार अगाडी वढ्नुपर्छ भन्ने उपप्रधानमन्त्री निधिको भनाई छ।"

सोमबार नै मर्यादा विवादबारे निर्णय लिने बताएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकको अघिल्लो दिनसम्मपनि दुईमध्ये कुन उपप्रधानमन्त्री दोस्रो वरीयतामा रहने भनेर भन्न सकेका छैनन्।

उपयुक्त निर्णय

तर सरकारका प्रवक्ता सुरेन्द्र कुमार कार्की भन्छन्, " प्रधानमन्त्रीले मनमा उपयुक्त निर्णय गरिसक्नु भएको छ। सवैसंग सल्लाह लिइएको छ र उपयुक्त निर्णय हुन्छ र त्यसलाई मान्नैपर्छ।"

मन्त्रिपरिषद्को बैठक बस्न नबस्दा व्यवस्थापिका संसदलाई सरकारले कार्यसूची दिन सकेको छैन भने विभिन्न मन्त्रालयसँग जोडिएका ५२ वटा भन्दा वढी प्रस्तावहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै थन्किएका छन्।

सर्वोच्च अदालतको आदेशपछिपनि स्थानीय चुनावको सुरक्षा जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेको नेपाल प्रहरी नेतृत्वविहिन छ।