सिरियामा भएको ग्यास आक्रमणको भर्त्सना

  • 5 एप्रिल 2017
तस्वीर कपीराइट AFP

सिरियामा भएको ग्यास आक्रमणबारे राष्ट्रसंघीय सुरक्षापरिषदले गरेको आपतकालीन बैठकमा पश्चिमा देशहरुले आक्रमणका लागि सिरियाली सरकार दोषी भएको बताउँदै आक्रमणको भर्त्सना गरेका छन्।

खान शेखौन नगरमा गरिएको ग्यास आक्रमणमा ७० जना भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ।

फ्रान्सले सो आक्रमणलाई राष्ट्रपति अल-असद सरकारको "ध्वंसात्मक पागलपन"को संज्ञा दिएको छ।

तर मस्कोले विद्रोहीहरुले रासायनिक हातहतियार भण्डार गरेको स्थानमा सिरियाली फौजले परंपरागत हवाई हमला गरेको बताएको छ।

त्यस अघि त्यो आक्रमणका लागि को जिम्मेवार थियो भन्ने विषयमा विवाद चर्किएको थियो।

उत्तरी सिरियामा दर्जनौंको ज्यान लिएको एउटा घातक आक्रमणमा प्रयोग गरिएका रसायन विद्रोही हतियार भण्डारबाट आएका थिए भन्ने रुसी खबरलाई अस्वीकार गरिएको छ।

ब्रिटिश विदेशमन्त्री, एकजना विद्रोही कमाण्डर र एकजना हतियार विज्ञ सबैले प्रमाणहरुले सिरियाली सरकारले आक्रमण गरेको देखाएको बताएका छन्।

दमास्कसले रासायनिक हतियार प्रयोग गरेर आक्रमण गरेको अस्वीकार गरेको छ।

ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियान अब्जर्भेटरी फर ह्युमन राइट्सले २० जना बालबालिका र ५२ जना वयस्क मारिएको बताएको छ।

भना

सिरियाली राष्ट्रपति बशर अल असदको सरकारलाई समर्थन गर्ने रुसले सिरियाली विमानले सो नगरमाथि आक्रमण गरेको स्वीकार गरेको छ।

तर त्यो हवाई हमलाले विषालु पदार्थले भरिएको लडाकुहरुको हतियार भण्डारलाई लागेको रुसको भनाइ छ।

फ्री इदलिब आर्मी नामक विद्रोही समूहका कमाण्डर हसन हज अलिले सबैले त्यो विमानले ग्यास आक्रमण गरिरहेको देखेको रोयटर्स समाचार संसथालाई बताएका छन्।

स्थानीय पत्रकारले त्यो नगरभित्र कुनै लडाकु अखडा नरहेको बरु वरिपरिका क्षेत्रमा विद्रोही समूहहरु रहेको बताएका छन्।

आरोप

सन् २०१३ मा पनि सिरियाली सरकारमाथि विद्रोही क्षेत्रमा सारिन नामक स्नायु वसय युक्त क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाइएको थियो।

त्यो आक्रमणमा परेर सयौं मारिएका थिए।

राष्ट्रपति असदले सो आरोप अस्वीकार गरेका थिए र विद्रोही लडाकुलाई दोष लगाएका थिए।

सिरियामा ५ वर्षदेखि जारी द्वन्द्वमा साढे दुइ लाख भन्दा बढी मानिस मारिएका थिए र अझैसम्म पनि द्वन्द्वको राजनीतिक समाधान देखिएको छैन।

झण्डै ५० लाख मानिसले देश छोडेर भागेका र ६० लाख आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ।